उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको छ।
बुधबार सुनुवाइ नसकिएपछि यो मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार दुवैतर्फका वकिलले बहस टुंग्याएपछि अब सर्वोच्चले यो मुद्दामा आजै फैसला दिन सक्छ।
शुक्रबार यो मुद्दामा रविको पक्षबाट अधिवक्ता नरेन्द्र केसी र विपक्षबाट अधिवक्ता सुरेन्द्र भण्डारीसहितले बहस गरेका छन्।
उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहस सकिएकाले आजै आदेश दिने तयारी सर्वोच्चको छ।
अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको जानकारी सर्वोच्च प्रशासनले दिएको छ।
अधिवक्ता रविराज बसौला र सिन्धुलीका युवराज पौडेल सफलसहितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।
Shares

प्रतिक्रिया