उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ शुक्रबार सकिएको छ।
वादी र प्रतिवादी दुवै पक्षका वकिलहरुको बहस सकिएपछि अब शुक्रबार नै यस मुद्दामा सर्वोच्चले फैसला दिन सक्नेछ।
शुक्रबारको सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा रविले निकालेको राहदानीबारे प्रश्न उठाएका छन्।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले जवाफी बहस गरिरहेका बेला उनलाई रोक्दै न्यायाधीश खतिवडाले प्रश्न उठाएका हुन्।
'नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा कसरी नेपालकै राहदानी जारी भयो?', उनले प्रश्न गर्दै भने, 'नागरिकता नै खारेजीमा परेको मानिसका नाममा राहदानी जारी हुन कसरी सम्भव भयो? स्वत: खारेजीमा परेको नागरिकताबाट राहदानी जारी गर्न नेपालको कानुनले कसरी दिन्छ?'
तर रविको पक्षबाट वकालतमा सहभागी वकिलहरुले रविले नेपाली नागरिकता नै नत्यागेको अवस्थामा पुनर्प्राप्तिको प्रश्नै नउठ्ने तर्क गरेका थिए। उनीहरुले यो मुद्दामा रविको बचाउ गर्दै उनी गैरनेपाली नागरिक नरहेको जिकिर गरेका थिए।
प्रतिक्रिया