ad ad

राजनीति


कांग्रेसका लथालिङ्ग भ्रातृ संगठन : अधिकांश नेतृत्वविहीन

कांग्रेसका लथालिङ्ग भ्रातृ संगठन : अधिकांश नेतृत्वविहीन

फाइल तस्बिर


केशव सावद
माघ ११, २०७९ बुधबार ७:४६, काठमाडौँ

२०७८ मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनपछि नेपाली कांग्रेस तल्लो तहसम्मै चलायमान भएको छ। तर, सो पार्टीका भ्रातृ संगठनहरु भने लथालिङ्ग अवस्थामा छन्। केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति गठन गरेर चलायमान बनेको कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठन नेतृत्वविहीन अवस्थामा छन्।

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुलाई गतिशील बनाउन भन्दै १३ वटामध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरे पनि अधिकांश संगठनले अझै नेतृत्व पाएका छैनन्।  

गत फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले विघटन गरेका १० मध्ये ३ वटा भ्रातृ संगठनहरुले मात्रै केन्द्रीय नेतृत्व पाएका छन्। केन्द्रीय नेतृत्व पाउनेमा कांग्रेसको ‘नर्सरी’ मानिने नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघ रहेका छन्। 

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघले केन्द्रीय कार्यसमिति विघटन गरिएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि नेतृत्व पाउन सकेका छैनन्। 

कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमिति विघटन गरिएका भ्रातृ संगठनहरुका केन्द्रीय तदर्थ समितिहरु सोही महिनाभित्रै गठन गर्ने निर्णयसमेत गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रीय कार्यसमिति विघटन गरिएका १० वटै भ्रातृ संगठनहरुको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय बैठकले गरेको थियो। 

तर, निर्णयको एक वर्ष पुग्न लाग्दा पनि सभापति देउवाले नेविसंघ, तरुण दल र महिला संघबाहेकका संगठनहरुको तदर्थ समिति बनाउन सकेका छैनन्। उनले नेविसंघ,  तरुण दल र महिला संघका अध्यक्ष मात्रै मनोनित गरेर अलपत्र छाडिदिएका छन्।   

नेविसंघका अध्यक्ष राजीव ढुंगाना १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संगठन नेतृत्वविहीन बनेको थियो। नैनसिंह महर अध्यक्ष हुँदा उनले महाधिवेशन गर्न नसकेपछि ढुंगानालाई तदर्थ समितिको नेतृत्व दिइएको थियो। 

यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संगठनको नेतृत्व तत्कालीन कोषाध्यक्ष विद्वान गुरुङलाई दिइएको छ। तरुण दलको लामो समयदेखि महाधिवेशन भएको छैन। 

अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ पनि नेतृत्वविहीन अवस्थामा थियो। महिला संघ नेतृत्वविहीन भएपछि उनले गत साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेका थिए। 

मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार पनि १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका थिए। उनी २०७५ वैशाख १५–१६ मा सम्पन्न मुस्लिम संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका थिए। 

तीनै तहको निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी सभापति देउवाले दुजाङ शेर्पालाई नेविसंघ, विद्वान गुरुङलाई तरुण दल र उषा राउत मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेका थिए। अध्यक्षहरू मनोनित भए पनि तीनै संगठनहरुले अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य पाउन सकेका छैनन्। 

फागुन ३ मा सम्पन्न पार्टीको कार्यसम्पादन समिति बैठकले सबै भ्रातृ संस्थाका नयाँ कार्यसमितिलाई स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो।  

तोकिएको उक्त अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन गर्ने निर्णय पनि कांग्रेसबाट भएको थियो। तर, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि गत फागुनमा विघटित तीन भ्रातृ संगठनबाहेकले तदर्थ समिति पनि पाएका छैनन्।  

कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ र नेपाल मगर संघले मात्रै निर्धारित समयमा महाधिवेशन गरेका छन्। बाँकी १० भ्रातृ संस्थामध्ये अधिकांशले निर्धारित समय गुजारेको वर्षौं बितिसक्दा पनि नेतृत्व हस्तान्तरण गरेका छैनन्।

कांग्रेसका तीन भ्रातृ संगठन नेपाल किसान संघ र नेपाल आदिवासी–जनजाति संघले १७ वर्षदेखि, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १३ वर्षदेखि र नेपाल दलित संघले १० वर्षदेखि महाधिवेशन गरेका छैनन्।

दलित संघका अध्यक्ष मीन विश्वकर्माले भने गत भदौमै राजीनामा दिएका थिए। कांग्रेस विधानमा भ्रातृ संगठनको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृ संगठनको पद स्वतः रिक्त हुने व्यवस्था छ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सभापति देउवाले पार्टीका नेताहरुसँग सरसल्लाह गरेर रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व मनोनित र नेतृत्व मनोनित भइसकेका संगठनको केन्द्रीय कार्यसमिति विस्तार गर्ने तयारी गरेको जानकारी दिए। 

‘सबै अधिकार सभापतिज्यूलाई दिइएको छ। सबैसँग सल्लाह गरेर नेतृत्व चयन, कार्यसमिति विस्तार गर्नुहुन्छ,’ उनले भने, ‘चुनावको बेला विवाद हुन्छ भनेर नगर्नुभएको हो। अब छिट्टै सबैले भ्रातृ संगठनले पूर्णता पाउँछन्।’

कांग्रेसले माघ १५ अघि नेविसंघको केन्द्रीय कार्यसमिति विस्तार गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन्। केन्द्रीय अध्यक्ष शेर्पाले पनि माघ १५ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि केन्द्रीय कार्यसमिति विस्तार हुन सक्ने प्रतिक्रिया दिएका छन्। 

‘केन्द्रीय कार्यसमिति बैठक अघि विस्तार हुन सक्छ,’ उनले नेपालखबरसँग भने। 

यद्यपि, केन्द्रीय कार्यसमितिको बैठकका लागि तय गरिएका एजेन्डाहरुमा भ्रातृ संगठनको विषय समेटिएको छैन। कांग्रेसले बैठकका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेको छ।

यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो। तर, अन्तिम समयमा उक्त बैठक माघ १५ का लागि तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .