ad ad

राजनीति


राष्ट्रपति निर्वाचनसम्म सरकारका असन्तुष्टलाई तान्ने कांग्रेसको रणनीति

राष्ट्रपति निर्वाचनसम्म सरकारका असन्तुष्टलाई तान्ने कांग्रेसको रणनीति

फाइल तस्बिर


केशव सावद
माघ १०, २०७९ मंगलबार ८:३, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा सघाएका मधेशवादी दलहरुलाई सभामुख र उपसभामुखका लागि आफ्नो पक्षमा उभ्याउन असफल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनसम्म विपक्षी मोर्चामा ल्याउने कसरत गरिरहेको छ। 

नेकपा एमालेसहितको सात दलीय गठबन्धनमा रहे पनि प्रचण्ड सरकारसँग असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्तिसँगै जनमत पार्टीलाई राष्ट्रपति निर्वाचनसम्म विपक्षी मोर्चामा उभ्याउन कांग्रेस प्रयासरत छ। 

कांग्रेसले माघ ५ मा सम्पन्न सभामुखको निर्वाचनमा मधेशवादी दलमध्ये जसपालाई आफ्नो पक्षमा उभ्याउने कोसिस गरेको थियो। चुनावको अघिल्लो दिन जसपा अध्यक्ष उपेन्द्र यादवले सभापति शेरबहादुर देउवालाई धुम्बाराहीमा भेटेर कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा फर्किने सन्देश दिएका पनि थिए।  

तर, त्यसको भोलिपल्ट सभामुखको निर्वाचनमा उनले जसपाका सांसदहरुलाई नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेकै पक्षमा मतदान गर्न लगाएका थिए। गत पुस १० गते प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा अन्तिम समयमा हस्ताक्षर गरेको जसपा अपेक्षा गरेको मन्त्रालय नपाएपछि सरकारमा गएको छैन।

प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि सघाएको रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भएको छैन। उसले कैलालीको टीकापुर घटनाका मुख्यदोषी रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त राखेको छ। 

जनमत पार्टीले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको छ। तर सुरुमा उद्योग मन्त्रालय पाउने सहमति कार्यान्वयन नभएपछि जनमत सांसद अब्बुदल खानले शपथ लिएर पनि मन्त्रालयमा पदभार ग्रहण गरेका छैनन्। 

गतिलो मन्त्रालय नमिल्ने बुझेपछि जनमत अध्यक्ष डा. सीके राउत नै सरकारमा गएनन्। आफ्ना सांसद खानलाई सहमतिअनुसार मन्त्रालय नदिएपछि राउत रुष्ट छन्।

सरकारसँग असन्तुष्ट तीनै दललाई सभामुखको निर्वाचनमा विपक्षी मोर्चामा उभ्याउन नसके पनि राष्ट्रपति निर्वाचनसम्म फकाइसक्ने रणनीतिमा कांग्रेस छ। सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पनि उनीहरुलाई विपक्षी मोर्चामा ल्याएर राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने योजना बनाएको देखिन्छ। 

सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय लिएको छ। यसका साथै त्यसका लागि अन्य दलसँग पनि सहयोग माग्ने निर्णय कांग्रेसले गरेको छ। 

‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले अरु दलहरुको पनि सहयोग लिएर प्रस्तुत हुने हाम्रो दृष्किोण रहेको छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘त्यसका लागि हामी संसदका अन्य दलहरुसँगको छलफल अगाडि बढाउने निर्णय बैठकले गरेको छ।’

पार्टी सह–महामन्त्री बद्री पाण्डेले पनि कांग्रेसले सरकारमा सहभागी मधेशवादी दलहरुलाई विपक्षी मोर्चामा ल्याउने प्रयास जारी राखेको बताएका छन्। 

‘सरकारमा रहेका मधेसवादी दलहरुलाई मोर्चामा ल्याउने कोसिस जारी छ,’ उनले नेपालखबरसँग भने, ‘हामीले उहाँहरुलाई आग्रह गर्ने हो, अनुरोध गर्ने हो। उहाँहरुसँग छलफल गर्ने हो। छलफल र आग्रहका आधारमा आउनुभो भने आउनुभो, आउनुभएन भने पनि बाध्यकारी अवस्था रहँदैन। हाम्रो कोसिस जारी छ।’

पाण्डेले आसन्न राष्ट्रपति निर्वाचनमा कांग्रेसले सत्ता बाहिरका दलहरुसँगै सत्तामा रहेका दलहरुको पनि सहयोग लिन चाहेको पनि बताए। 

‘सत्ताबाहिरका दलहरुको मोर्चा त छँदैछ। त्यही मोर्चाका आधारमा हामी सभामुख, उपसभामुखमा लड्यौँ,’ उनले भने, ‘र, राष्ट्रपतिमा हामी सत्ता बाहिरका दलहरुको मात्रै नभइ सत्तारुढ दलहरुको पनि सहयोग लिन चाहिरहेका छौं।’ 

सभापति देउवानिकट स्रोतले पनि सभामुख निर्वाचनबाटै सरकार गठनमा सहयोग गरेका दलहरु मिलाएर विपक्षी मोर्चा बलियो बनाउने प्रयास जारी रहेको बताए। 

‘हंक पार्लियामेन्ट’ मा सत्तारुढले आफ्नो पक्षमा र प्रतिपक्षले सरकारको विपक्षमा दलहरुको संख्या बडाउनु स्वघोषित रणनीति नै भएको उनको भनाइ छ। 

‘सरकारलाई समर्थन नगरेका दलहरुसँगै समर्थन गरेका दलहरुलाई मिलाएर गठबन्धन बनाउने प्रयास कांग्रेसबाट सभामुखको निर्वाचन अगाडि भएको थियो,’ ती नेताले भने, ‘सभामुख र उपसभामुखको निर्वाचनमा साथ नपाए पनि प्रयास जारी छ।’ 

‘प्रधानमन्त्री नियुक्तिका लागि सिफरिस गरेको पार्टी भएर बाहिर आउन जसपालाई अप्ठ्यारो भएको हुन सक्छ। फेरि सरकारले मन्त्रालय भागमा पारेको छ’, सभामुखको निर्वाचनअघि सघाउने भनिएको जसपाले निर्वाचनका दिन नसघाउनुको कारणबारे नेपालखबरको जिज्ञासामा ती नेताले भने, ‘नागरिक उन्मुक्तिलाई दिने मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले लिएर बस्नुभएको छ। चित्त नबुझेर उहाँहरु जानु नभएको मात्रै हो। सरकारले चित्त नबुझाए बिस्तारै बाहिर आउनुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .