नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको संविधान जोगाउनका निम्ति कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका छन्।
कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले यस्तो बताएका हुन्।
‘नेपालको संविधान जोगाउनका निम्ति नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्छ,’ उनले भने, ‘संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन अनुरोध गर्छौं।’
विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको स्मरण गर्दै पौडेलले फेरि पनि नेकपा एमाले अनुकूलको राष्ट्रपति चुनिए संविधानका लागि खतरा हुने जिकिर गरे।
‘हिजो ओलीजी अनुकूलको राष्ट्रपतिले संवैधनिक व्यवस्थामाथि बारम्बार प्रहार गर्नुभयो,’ उनले भने, ‘यो गठबन्धनले फेरि सम्झौता अनुसार त्यस्तै स्मेल बनाउने गरी अगाडि बढ्यो भने त्यो नेपालको संविधानका लागि खतरा हुन्छ।’
कांग्रेसको समन्वयकारी भूमिकाले विगतमा देशका गम्भीर समस्याहरु समाधान गरेको भन्दै नेता पौडेलले कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुगे संसदलाई समन्वय गर्न सक्नेमा जोड दिए।
‘अतिवादमा विश्वास नगर्ने कांग्रेसको समन्वयकारी भूमिकाले हिजो देशका गम्भीर संकटहरु समाधान भएका छन्,’ उनले भने, ‘आज पनि कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुग्न सक्यो भने बहुरंगी आजको संसदलाई समन्वय गर्न सक्छ।’
समन्वयकारी क्षमता भएको व्यक्ति कांग्रेसको विचार बोकेको व्यक्ति राष्ट्रपतिमा जान आवश्यक रहेको पौडेलको भनाइ थियो। ‘परिस्थितिवश राष्ट्रपतिको झनै जटिल भूमिका हुने देखिएको वर्तमन स्थितिमा समन्वयकारी क्षमता भएको व्यक्ति कांग्रेसको विचार बोकेको व्यक्ति राष्ट्रपतिमा जान आवश्यक छ,’ उनले भने।
नेता पौडेलले पार्टीलाई लोकप्रिय बनाउन र आम जनताको मनमा बस्न कसरी सकिन्छ भन्ने बारे सबै नेताले सोच्न जरुरी रहेकोमा पनि जोड दिए।
‘तपाईं कुनै पनि साथी निराश नहुनुस्। अब सत्तामा पाँचै वर्ष जान नसकिने हुन सक्छ। त्यो मनोविज्ञान बनाउनुस्,’ उनले भने, ‘पाँचै वर्ष सत्ताभन्दा बाहिर बसेर म कसरी सक्रिय हुन सक्छु? म कसरी कांग्रेसलाई लोकप्रिय बनाउन सक्छु? म कसरी आम जनताको मतमा बस्न सक्छु? अब हामी हरेकले त्यो ढंगबाट सोच्न जरुरी छ।’
Shares

प्रतिक्रिया