कारोबार


वैधानिक बाटोबाट धेरै विप्रेषण नभित्रिएपछि नयाँ कदम चाल्दै सरकार

वैधानिक बाटोबाट धेरै विप्रेषण नभित्रिएपछि नयाँ कदम चाल्दै सरकार

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७९ आइतबार १३:१४, काठमाडौँ

विदेशबाट आउने रेमिट्यान्स धेरै लिगल च्यानल अर्थात् वैधानिक तवरबाट नआएको भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले अहिले पनि धेरै रकम लिगल च्यानलबाट नआएको तथा रेमिट्यान्सको धेरै हिस्सा अवैधानिक तवरबाट आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।  

अर्थमन्त्री विष्णु पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्।  

प्रवासी नेपाली मञ्ज अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन्। 

अर्थमन्त्री पौडेले भने, ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउनसकेका छैनौँ। लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न  सरकार तयार छ।’ 
 
रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताए।

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ। त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौं। त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुनेछ।’ 

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको नागिरकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे।

‘नेपालको आर्थिक विकासमा प्रवासमा रहनु भएका प्रवासी नेपाली गैरआवासीय नेपाली अन्यन्तै ठूलो योगदान छ । आउने दिनमा अझ प्रभावशाली हुँदै छ भन्ने अपेक्षा गर्न चाहन्छु’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आग्रह गर्दै भने, ‘रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस् भन्ने अपेक्षा गर्न चाहन्छु। नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो । प्रतिफल दिने स्थान हो। त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्याइदिनुहोस् भन्ने आग्रह छ।’ 

नेपालमा राजनीतिक स्थायित्वबारेमा गैरआवासीय नेपालीले चिन्ता गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भने, ‘कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरु खोजेर राजनीतिक स्थायित्व गर्नु पर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरु र पार्टीहरुका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्वशर्त बनेको छ।’

कार्यक्रमका सहभागीहरुले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad