नेपाली कांग्रेसले १४ औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवलाई उपसभामुखका लागि अघि सारेको छ।
कांग्रेसले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोगमा शनिबार हुने निर्वाचनका लागि समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य मुक्तालाई उपसभामुखमा अघि सारेको हो।
कांग्रेसका सह-महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य बद्री पाण्डे मुक्ताको प्रस्तावक बसेका छन्।
यादवको उम्मेदवारीमा प्रतिनिधिसभा सदस्यद्वय नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) का सर्वेन्द्रनाथ शुक्लले समर्थन गरेका छन्।
२०७० मा संविधानसभामा सदस्य रहेकी मुक्ता २०७४ मा दुई वर्षका लागि राष्ट्रियसभा सदस्य थिइन्।
उनी २०७८ मंसिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा कूल खसेको ४ हजार ६७१ मतमध्ये ३ हजार ९६० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
२०३४ साल भदौमा महोत्तरीको कांग्रेस समर्थक राय परिवारमा जन्मिएकी मुक्ताको १४ वर्षकै उमेरमा २०४८ सालमा कांग्रेस राजनीतिमा सक्रिय धनुषाको यादव परिवारसँग भएको थियो।
सानै उमेरमा विवाह भए पनि अध्ययनलाई निरन्तरता दिएकी मुक्ताले स्नातकसम्म अध्ययन गरेकी छन्।
धनुषाको ग्रामीण भेगमा पर्ने लक्ष्मीपुरको राष्ट्रिय प्राविमा अध्यापन गर्ने क्रममा उनले द्वन्द्वकालमा चन्दा माग्न आएका नेकपा माओवादीका तत्कालीन लडाकुसँग उल्टै चन्दा मागेको बताउँछिन्।
‘त्यति बेला म शिक्षिका थिएँ। मेरो स्कूलमा २०-२२ जना माओवादी आएका थिए चन्दा माग्न। अनि मैले भनेँ, हामीबाट चन्दा लिएर बन्दुक गोली किन्नु हुन्छ अनि मान्छेको ज्यान मार्नुहुन्छ,’ १४ औँ महाधिवेशनमा निर्वाचित भएपछि बीबीसीसँगको कुराकानीका क्रममा माओवादी कार्यकर्तालाई आफूले दिएको जवाफ स्मरण गर्दै मुक्ताले भनेकी थिइन्, ‘बरु तपाईंहरू देशभरिबाट यतिका सम्पत्ति लुटपाट गरिरहनुभएको छ, स्कुल भनेको एउटा ज्ञानको मन्दिर हो, बरु तपाईंहरू नै दिनुस् न यसमा चन्दा।’
अहिलेको सात दलीय सत्ता गठबन्धनभित्र कांग्रेसले अपेक्षा गरेझैँ कुनै नाटकीय परिवर्तन भए मुक्ता उपसभामुख बन्ने सम्भावना छ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनले मनोनयनसमेत दर्ता गरिसकेकी छन्। उपसभामुखका लागि शनिबार निर्वाचन हुँदैछ।
यसअघि महन्थ ठाकुर, लीला श्रेष्ठ सुब्बा, रामविलाश राय यादव, पूर्णाकुमारी सुवेदी, डा. शिवमाया तुम्माहाम्फे र ओनसरी घर्तीमगर उपसभामुख भइसकेका छन्।
बिहीबार भएको निर्वाचनमा सभामुखमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया