ज्यान मुद्दामा ‘फरार अभियुक्त’ को सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतोमाथि प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
सभामुखको निर्वाचन कार्यसूचीमा भएको भन्दै कांग्रेस सांसद रामहरी खतिवडाले प्रश्न उठाएका हुन्। उनले विशेष समय माग गर्दै सभामुख निर्वाचनमा भाग लिन पाउने वा नपाउनेबारे निर्णय गर्न माग गरेका हुन्।
सांसद महतो पनि बैठकमा उपस्थित छन्। बैठकमा सांसद खतिवडाले प्रश्न उठाएपछि गृहमन्त्री लामिछानेले सो बारे जवाफ दिएका थिए।
उनले विधि र पद्धतिलाई दबाब नदिन समेत आग्रह गरेका छन्।
‘माननीयज्यू (रामहरि खतिवडा)ले फरार रहेका मानिस संसदमा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन’, उनले भने, ‘प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।’
महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ। उनी अझै फरार अभियुक्तको सूचीमा छन्।
मधेशवादी दलमा रहेर राजनीति गर्दै आएका महतो गएको निर्वाचनको मुखमा एमाले प्रवेश गरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। उनले माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
*भूलवस असम्बन्धित व्यक्तिको फोटो प्रयोग भएकाले क्षमासहित हटाइएको छ। -सम्पादक
Shares

प्रतिक्रिया