प्रतिनिधि सभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। यसपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
सभामुख चयन गर्न निर्वाचन बिहीबार प्रतिनिधि सभाको बैठकमा हुनेछ। त्यसका लागि बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको छ।
संसद् बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ। गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले आज उम्मेदवारी दर्ता गराउनेछन्। तर एमालेले उम्मेदवार तोकिसकेको छैन।

प्रतिपक्षमा बसेर पनि सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुख पदमा दाबी गर्ने सम्भावना छ। यस विषयमा छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक राख्दै छ।
Shares

प्रतिक्रिया