ad ad

राजनीति


प्रधानमन्त्रीले राष्ट्रपति र सभामुख पदमा साझा सहमतिको वचन दिनु भएको छ : कांग्रेस प्रवक्ता महत

प्रधानमन्त्रीले राष्ट्रपति र सभामुख पदमा साझा सहमतिको वचन दिनु भएको छ : कांग्रेस प्रवक्ता महत

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १२:५४, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले दिएको बताएका छन्। 

प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले ती पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले नेपाली कांग्रेससँग नै प्रतिवद्धता जनाएको खुलाए। 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरुको नेतृत्व चयन दलबीच सहमतिमा हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेको स्पष्ट पारे।

प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने पनि दोहोर्‍याए। 

उनले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए। 

संवैधानिक पदहरु मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिनभएको वचनवद्धता पूरा गर्नेमा आशावादी रहेको बताए। 

उनले संवैधानिक पदहरुमा रहने व्यक्तिले पार्टीगत रुपमा नभइ समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरुले सोचेर निर्णयमा पुग्नुपर्ने बताए।

‘अवश्य पनि यो सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद एउटा महत्वपूर्ण संवैधानिक पदहरु पनि हुन्। सँगसँगै सभामुख, उपसभामुखले सम्पूर्ण संसद कसरी चल्छ। त्यो विधिसम्मत तरिकाबाट र बुद्धिमतापूर्ण तरिकाबाट चल्छ, चल्दैन? सबै पार्टीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था संसद हो। त्यस अर्थमा मलाई लाग्दछ–त्यसको पनिमहत्वपूर्ण अर्थ छ', उनले भने, 'त्यस्तै गरेर राष्ट्रपति, उपराष्ट्रपतिको संस्थाको पनि ठूलो महत्व छ। खास गरेर अहिलेसम्म जसरी राष्ट्रपतिको पदको सदुपयोग, दुरुपयोग जे जस्तो हुँदै आएको छ। त्यसले गर्दा पनि यसको महत्व झनै बढाएको छ। यसले दुरुपयोग गर्ने सम्भावनाप्रति पनि प्रशस्त संकेत पछिल्लो राष्ट्रपति कार्यकालमा देखिएको छ। त्यस अर्थमा यो महत्वपूर्ण छ।'

उनले त्यहीकारण नेपाली कांग्रेसले ४ वटा जिम्मेवारीहरुको सन्दर्भमा साझा दृष्टिकोण बनाउनुपर्ने तर्क गरेको बताए। 

'यो बहुमत, अल्पमतबाट सरकार बनाएको जस्तो विषय यसलाई बनाइनु हुँदैन। किनकी त्यसले निष्पक्ष, त्यहाँ निर्वाचित हुनेबित्तिकै निष्पक्ष ढंगबाट पार्टीको सदस्यको रुपमा होइन। समग्र देशको र संसदको प्रतिनिधित्व गर्नुपर्दछ भने मान्यता हो', उनले भने, 'एउटा सर्वदलीय दृष्टिकोण, साझा दृष्टिकोण निस्कनुपर्दछ । र, त्यस हिसावले चयन हुनुपर्दछ। निर्वाचन प्रक्रिया अघि बढ्नुपर्दछ भन्ने हाम्रो मान्यता हो। त्यही मान्यतालाई ध्यानमा राखेर हाम्रो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सबै दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .