राजनीति


कांग्रेस केन्द्रीय समिति बैठक : पौडेल पक्षले बहिष्कार गर्ने, देउवा नबसी नछाड्ने

कांग्रेस केन्द्रीय समिति बैठक : पौडेल पक्षले बहिष्कार गर्ने, देउवा नबसी नछाड्ने

सागर न्यौपाने
पुस ११, २०७६ शुक्रबार ९:४६,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवासँग पटक–पटक भएको वार्तामा नविसंघमा महामन्त्री थप गर्ने र तरुण दलको नेतृत्व दिने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाएको बैठक पौडेल पक्षले बहिष्कार गर्ने भएको हो।

सहमति जुटन नसकेका कारण बैठकमा सहभागी नहुने निर्णय गरेको पौडेल समूहका नेता गुरु घिमिरेले बताए। कार्यसमिति बैठकमा सहभागिताबारे निर्णय गर्न शुक्रबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सो समूहको बैठक बसेको थियो। नेता घिमिरेले नेपालखबरसँग भने, ‘सभापति हाम्रा मागमा सहमत नभएपछि हामीले आजको बैठकमा सहभागी नहुने निर्णय गरेका छौं।’
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतको उपस्थिति थियो भने पौडेल समूहसँग जोडिँदै आएका अर्का नेता कृष्ण सिटौला भने सहभागी थिएनन्।

मंसिर २६ गते बसेको कार्यसमिति बैठक पनि पौडेल समूहले बहिष्कार गरेकाले मुख्य विषयमा प्रवेश नै नगरी स्थगित गरिएको थियो। त्यसयता कार्यसमितिको मिति तय हुँदै स्थगित गरिँदै आएको छ। पुस २ र ४ गते राखिएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो भने त्यसपछि पौडेल समूहसँग निर्णायक वार्ता गर्ने भन्दै शुक्रबार कार्यसमिति बैठक बस्ने तय गरिएको थियो।
पुस ४ गतेपछि पौडेल समूहसँग उपसभापति विमलेन्द्र निधिले पटक पटक वार्ता गरेका थिए तर पार्टी विभागको संख्या थप गर्ने, नेविसंघको महामन्त्री थप र तरुण दल वा नेविसंघको नेतृत्व दिने विषयमा पौडेल समूहले अडान नछोडेपछि वार्ता कुनै निष्कर्षमा पुग्न सकेको थिएन।

पौडेल समूहले बहिष्कार गरे पनि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सञ्चालन गर्ने सभापति देउवाले तयारी गरेका छन्। देउवा पक्षका एक केन्द्रीय सदस्यका अनुसार आजको बैठक पौडेल पक्ष नआए पनि विषयमा प्रवेश गर्ने तयारी भइरहेको जानकारी दिए। ‘साथीहरुले बैठक बसौं, विषयबस्तुबारे छलफल गरौं भन्नुभयो, सभापति देउवाजीले पनि तपाईंहरु भन्नुहुन्छ भने बैठक सञ्चालन गर्छु भन्नुभयो, अबको केही बेरपछि बैठक बस्छ,’ देउवा पक्षीय केन्द्रीय सदस्य रमेश रिजालले भने। अहिले उपसभापति विजय गच्छदारलाई कुरिरहेको र उनी आएपछि बैठक सञ्चालन हुने उनले जानकारी दिए।

पौडेल समूहसँग भएका वार्ता निष्कर्षमा पुग्नुभन्दा पनि नयाँ नयाँ माग आउन थालेपछि समस्या भएको देउवा समूहका अर्का नेता रमेश लेखकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .