नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिएका छन्।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौंधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे।
उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टीकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गरे।
सांसद देवले भने, ‘यो मुलुकमा धेरै ठूल्ठूला आन्दोलनहरु भए। ठूल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली कांग्रेसले गर्यो, कहिले माओवादीले गर्यो। यो देशमा मधेश आन्दोलन भयो। यो देशमा थारु आन्दोलन भयो। यो देशमा पहिचानका आन्दोलनहरु भए। यो देशमा समानताका आन्दोलनहरु भए। हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन्। स्वतस्फूर्त आन्दोलनहरुमा मान्छेहरु मारिएका छन्। तर हरेक बेलामा यहाँ न्याय भएको छ। राजनीतिक आन्दोलनलाई अपराधिक आन्दोलन भनिएन। त्यसकारण थारुहरुले गरेको आन्दोलन कैलालीमा भएको आन्दोलन राजनीतिक आन्दोलन थियो। अन्याय भएको छ–रेशम चौंधरीमाथि। अन्याय भएको छ थारुहरुमाथि। त्यसलाई करेक्शन गर्नु पर्दछ भनेर म माग गर्न चाहन्छु।’
सांसद देवले संविधानको रक्षा गर्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनु परेको स्पष्टिकरण समेत दिए। उनले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिन सक्ने अडान समेत राखे। सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढन सुझाव दिए।
सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढन नहुने धारणा समेत राखे।
Shares

प्रतिक्रिया