ad ad

राजनीति


सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई सम्हाल्न गठबन्धनलाई धौ धौ, मन्त्री नियुक्तिमा फेरि असन्तुष्ट

सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई सम्हाल्न गठबन्धनलाई धौ धौ, मन्त्री नियुक्तिमा फेरि असन्तुष्ट

बिहीबार नियुक्त मन्त्रीहरुलाई सपथ गराइँदै, इन्सेटमा सांसद रामेश्वर चौधरी। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १२:२९, कञ्चनपुर

सुदूरपश्चिममा सरकार गठनको निर्णायक शक्ति नागरिक उन्मुक्ति सत्तारुढ गठबन्धनसँग असन्तुष्ट बनेको छ। 

मन्त्री नियुक्तलाई लिएर नागरिक उन्मुक्ति गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेसंग रुष्ट बनेको हो। 

बिहीबार मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै माओवादीका खगराज भट्ट र एमालेकी सन्तोषी कुमारी थापा (शर्मा)ले मन्त्रीको सपथ लिएका थिए।

मन्त्री नियुक्तमा नागरिक उन्मुक्तिको असहमति रहेको सांसद कैलाश चौधरीले बताए। 

‘गठबन्धनमा आवद्ध दलहरुले हामीसँग छलफल नै नगरी मनोमानी ढङ्गले एकलौटी मन्त्रीलाई सपथ गराउनुभयो, यसमा हाम्रो गम्भीर असहमति छ,’ उनले भने, ‘गठबन्धनलाई समर्थन गरिसकेपछि हामीसँग पनि छलफल हुनु पर्ने हो, तर यस्तो भएन।’

माओवादीका भट्ट र एमालेकी थापाले मन्त्रीको सपथ लिए पनि उनीहरुको विभाग भने अझै तोकिएको छैन। नागरिक उन्मुक्ति समेतको समर्थनमा एमालेका राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको दुई दिन नबित्दै सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा असन्तुष्टि देखा परेको हो। नागरिक उन्मुक्तिले समर्थन नगरे भए  रावल मुख्यमन्त्री बन्ने थिएनन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद सहित २९ जनाको समर्थनमा रावल मुख्यमन्त्री बनेका थिए।

नागरिक उन्मुक्ति र एमालेका एक/एक सांसद बिहीबारको प्रदेश सभा बैठकमा उपस्थिती नहुँदा सत्तारुढ गठबन्धनतर्फबाट माओवादीका भीमबहादुर भण्डारी सभामुख चयन हुन सकेनन्। सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो।

एमालेलाई समर्थन गरेको नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई समिति प्रमुख र उपसभामुखमा दाबी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .