ad ad

राजनीति


सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतगणना जारी

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतगणना जारी

नेपालखबर
पुस २३, २०७९ शनिबार १७:२९, काठमाडौँ

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि मतगणना जारीको छ। प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार केहीबेर अघिबाट मतगणना सुरू भएको हो।

नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो। निर्वाचनमा दुई वटा समूहले प्यानलसहित मनोनयन दर्ता गरेका थिए। 

निर्वाचनमा बृहत् लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा छन् लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

यस्तै उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले उम्मेदवारी दिएका छन्। सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्।

सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उम्मेदवार छन्। एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेलले उम्मेदवारी दिएका छन्। एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल छन्।

सदस्यहरूमा लोकतान्त्रिक समूहबाट इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र बद्रीराज भट्ट रहनुभएको छ भने प्रगतिशीलबाट विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोदकुमार श्रेष्ठ, बीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती र रमेशराज शर्मा सिग्देल चुनावी मैदानमा छन्। 

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ। सर्वोच्च बारमा छ सय २१ मतदाता रहेकामा पाँच सय ७३ मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .