नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले राष्ट्रिय हित र स्वार्थका लागि फरक–फरक विचारबीच पनि मेलमिलाप आवश्यक रहेको बताएका छन्।
मेलमिलाप दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन एवं विकास र समुन्नतिका लागि राष्ट्रिय शक्तिबीच मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।
वीपी कोइराला पञ्चायतको कठोर समयमा आफूविरुद्ध विभिन्न ८ बढी मुद्दा लगाएको राजाविरुद्ध मेलमिलापको नीति लिएर २०३३ पौष १६ मा निर्वाचन त्यागेर स्वदेश फर्किएका थिए।
निर्वाचनमा ठूलो दल भए पनि सरकारमा सहभागी हुन नसक्नु प्राविधिक विषय भएको भन्दै सहमहामन्त्री राठौरले ऐतिहासिक र ठूलो दलका रुपमा कांग्रेस राष्ट्रहितलाई केन्द्रबिन्दुमा राखेर सरकारका राम्रा कामको समर्थन र हित प्रतिकूलका क्रियाकलापमा निरन्तर खबरदारी गरिरहने बताएका छन्।
‘मेलमिलाप दिवसकै अवसरमा, नेपाली कांग्रेसको नेतृत्वमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेर शान्तिपूर्ण रुपमा अभिमत प्रकट गर्नु भएकोमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई आभारपूर्वक सम्झन चाहन्छु,’ सहमहामन्त्री राठौरले सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै भनेका छन्।
५ दलीय गठबन्धन गरेर निर्वाचनमा गएको कांग्रेस निर्वाचनबाट ठूलो दल भए पनि माओवादीले नेकपा एमालेसहितको दलहरुसँग मिलेर सरकार बनाएपछि प्रतिपक्षमा पुगेको छ।
Shares

प्रतिक्रिया