ad ad

राजनीति


देउवाको सन्देश प्रचण्डसम्म पुगेकै थिएन?

प्रचण्डले भने : फोन आएको भए बालुवाटार फर्किन्थेँ
देउवाको सन्देश प्रचण्डसम्म पुगेकै थिएन?

फाइल तस्बिर


केशव सावद
पुस १६, २०७९ शनिबार ७:११, काठमाडौँ

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते आइतबार सरकार गठनको आह्वान गरिन्।  

कुनै एक दलले एकल बहुमतको सरकार गठन गर्न सक्ने जनादेश नआएपछि उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आह्वान गरेकी थिइन्। 

उक्त व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्न सकिन्छ।

राष्ट्रपति भण्डारीले दिएको समयावधिको अन्तिम दिन पुस १० गते बिहानैदेखि नयाँ सरकार गठनका लागि कांग्रेस नेतृत्वको तत्कालीन सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका थिए। 

तर, कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने हठका कारण गठबन्धनमा सहमति जुट्न सकेन। 

सहमति नजुटेसँगै छैटौं कार्यकाल प्रधानमन्त्री भएरै छाड्ने सभापति देउवाको हठका कारण कांग्रेसले पोल्टामा परिसकेको राष्ट्रपतिसहित प्रदेश सरकारसम्मका करिब सय पद गुमाएको छ। 

उता माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन गठबन्धनबाटै पहिलो अढाई वर्ष सरकारको नेतृत्व गर्ने योजना पानी बाराबारको अवस्थामा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा पूरा गरेका छन्। 

पार्टीभित्रको दबाब भनेर माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि कांग्रेस अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायत पदबाट बञ्चित भएको छ। यसलाई लिएर कांग्रेस सभापति देउवाविरुद्ध पार्टीकै इतर समूहले घेराबन्दी गरेको छ।
उक्त समूहले कुनै औपचारिक निर्णय नगरे पनि केही नेताहरु सभापति देउवाविरुद्ध आक्रोश पोखिरहेका छन्। इतर समूहका नेताहरुले सार्वजनिक रुपमै सभापति देउवाले राजीनामा दिनु पर्नेदेखि विशेष महाधिवेशनबारे पनि आवाज उठाएका छन्। 

यद्यपि, इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला देउवाप्रति केही नरम देखिएका छन्। उनको समूहमा रहेका केही नेताहरुले सभापति देउवामाथि कारबाहीको माग गर्दा उनी पक्षमा देखिएका छैनन्। 

‘गठबन्धनबाट माओवादी बाहिरिएपछि सभापतिलाई कारबाही गर्नुपर्नेभन्दा केन्द्रीय समिति बैठकमा निर्मम समीक्षा गर्नेछौँ,’ गत बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘सत्ता गएकोमा चिन्ता छ। तर, कारबाहीको कुरा बेग्लै हो।’

राष्ट्रपति पद लिएर प्रधानमन्त्री माओवादीलाई दिन नसक्नु कमजोरी भएको भन्दै उनले निर्वाचनबाट ठूलो पार्टीको हैसियत बनाएको कांग्रेसले प्रमुख पदमा दाबी गर्नु स्वाभाविक भएको बताएका थिए। 

‘पार्टी सभापति र वार्तामा रहेका सदस्य यसबारे चुक्नुभएको छ। यसमा हामीले राष्ट्रपति पद लिएर अरु पद दिँदा पनि हुने थियो,’ प्रतिनिधिसभा सदस्य कोइरालाले भने, ‘फेरि, निर्वाचनपछि ठूलो पार्टी भएको हँुदा कांग्रेसले प्रमुख पदमा दाबी गर्नु स्वाभाविक हो।’

उनले तत्कालीन सत्ता गठबन्धनलाई निरन्तरता दिने कुरामा सभापति देउवा र वार्तारत नेताहरुले माओवादी र एमालेको चाल बुझ्न नसक्नु कमजोरी भएको पनि जिकिर गरे। 

परिदृष्य हेर्दा प्रतिनिधि सभा सदस्य कोइरालाले भने झैं सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग सरकार गठनका लागि वार्तारत कांग्रेस नेताहरु चुकेका देखिन्छन्। 

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पनि देउवाको तर्फबाट वार्ताका लागि आउने नेताहरु आत्मकेन्द्रित भएर प्रस्तुत हुने गरेको खुलासा गरेका छन्। 
प्रधानमन्त्री नियुक्त भइसकेपछि आफूलाई भेट्न आएका कांग्रेसका एक प्रतिनिधि सभा सदस्यसँग उनले यसबारेमा खुलासा गरेका हुन्।   
उनले नयाँ सरकार गठनबारे देउवाको प्रतिनिधिका रुपमा खुमलटार छलफलमा पुगेका नेताहरुले आफूसँग तत्कालीन प्रधानमन्त्रीको सन्देशभन्दा व्यक्तिगत कुरा गर्ने गरेको ती प्रतिनिधि सभा सदस्यसँगको भेटमा गरेका छन्।  

‘प्रचण्डले मसँग यति पनि भन्नुभयो कि मैले धेरै कांग्रेस नेताहरुसँग कुरा गरेँ। तर, सेल्फ सेन्टर्ड, शेरबहादुर दाइले जोलाई पठायो त्यसले व्यक्तिगत मात्रै कुरा गर्छ भन्नुभयो,’ ती नेताले नेपालखबरसँग भने, ‘शेरबहादुर दाइको सन्देश नै नपुगेको हो कि झैँ लाग्यो। इलाब्रेट गरेर नभन्दा डा. मिनेन्द्र रिजालहरु जस्तो एनालिटिक (विश्लेषण गर्न सक्ने) मान्छे देउवा दाइसँग छैनन्। एउटा पोस्टम्यान छ, अर्को आफ्नै इन्ट्रेस्टमात्रै लगेर डेलिभरी गर्छ।’   

ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले आफूलाई कांग्रेसले सत्ता समीकरणका लागि भएका वार्ताहरुमा ‘ह्युमलेट’ गरेकोसमेत अनुभव साटेका छन्। 

‘मैले कुरा छेडेपछि केही निस्किन्छ कि भनेर सोधेको, उहाँ (प्रचण्ड) ले इङ्लिसमा ह्युम्लेट शब्द प्रयोग गर्नुभयो,’ उनले भने, ‘तपाईंले हेपिएको महसुस गर्नुभयो भन्दा उहाँले ह्युमलेट गरियो भन्नुभयो।’

ती नेतासँग प्रचण्डले आफू बालुवाटारबाट निस्किसकेपछि पनि तत्कालीन प्रधानमन्त्री देउवाको फोन आए आफू बालुवाटार फर्किने मनस्थितिमा रहेकोसमेत खुलाएका छन्। 

‘उहाँ आउनेमात्रै होइन। फोनमात्रै गरेको भए बालुवाटार फर्किन्थेँ,’ ती नेताले शेरबहादुर दाइ आफैँ खुमलटार आएर तपाईंसँग कुरा गर्दा के हुन्थ्यो भन्ने जिज्ञासामा प्रचण्डको जवाफ स्मरण गर्दै भने, ‘उहाँको डिजाइनमा अलरेडी प्लान बी त थियो। तर, मनैदेखि उहाँले कांग्रेसको साथ छाड्न चाहनुभएको थिएन भन्ने बुझिन्छ।’

प्रचण्डले आफूलाई एमाले अध्यक्ष ओलीनिवास बालकोटमा नयाँ राजनीतिक समीकरणका लागि अन्तिम निर्णय हुनै लाग्दा बालुवाटारबाट फोन आएको पनि सुनाएको ती नेताले बताए। 

‘खुमलटारबाट निस्केपछि फोन आएको कि अगाडि नै आयो भन्ने जिज्ञासामा प्रचण्डले भन्नुभयो–साथीहरु अगाडि नै बालकोटमा बसिराखेका थिए,’ उनले भने, ‘कांग्रेससँग कुरा नमिलेको अवस्थामा एमालेसँग मिल्न पर्छ भनेरै हामीले बिहानै साथीहरु बालकोट पठाएका थियौँ। म खुमलटारबाट निस्केर फाइनल हुनै लाग्दा फोन आएको थियो भन्नुभयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .