प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी किशोरी निर्मला पन्तबारेको अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका छन्।
शुक्रबार नक्साल पुगेका गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक सिंह, अतिरिक्त महानिरीक्षक, नायव निरीक्षकसहितको टोलीले पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेका हुन्।
गृहमन्त्री लामिछानेले निर्मलालाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय यसअघि नै गरिसकेका छन्।
गृहमन्त्री भएपछि रविको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने
गृहमन्त्री भएपछि लामिछानेले पुस ११ गते निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय लिएका थिए।
गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका थिए।
'निर्मला पन्तको केस के भइरहेको छ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ', उनले गृहसचिव विनोद सिंहलाई निर्देशन दिँदै भनेका थिए, 'मेरो पहिलो निर्णय नै निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भन्ने भएको छ।'
रविले सञ्चारकर्मी भएका बेला निर्मलाको मुद्दा कञ्चनपुरको उल्टाखाम पुगेर पनि उठाएका थिए। तर यो प्रकरण गिजोलिन पुग्दा अहिलेसम्म उक्त बलात्कार र हत्याकाण्डका दोषी पक्राउ परेका छैनन्।
प्रतिक्रिया