ad ad

राजनीति


प्रभुको पार्टीमा किरण साह, बद्री न्यौपानेदेखि करिमा बेगमसम्म

प्रभुको पार्टीमा किरण साह, बद्री न्यौपानेदेखि करिमा बेगमसम्म

आम जनता पार्टी घोषणा गर्दै प्रभु साह। तस्बिर : नेपालखबर


नेपालखबर
पुस १४, २०७९ बिहिबार १७:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेसमेत छाडेका प्रभु साहले बिहीबार आम जनता पार्टी गठन गरेका छन्। 

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् उनले देशमा अर्को राजनीतिक दल थपेका हुन्।

माओवादी पृष्ठभूमिका उनी २०७७ मा नेकपा विभाजन हुँदा केपी शर्मा ओली नेतृत्वको समूहमा लागेर पछि एमालेमा समाहित भएका थिए।

तर मंसिर ४ को चुनावअघि एमाले सचिव रघुवीर महासेठसँगको द्वन्द्वका कारण लिइसकेको टिकट पनि छाडेर रौतहट ३ बाट स्वतन्त्र उठेका थिए।

कांग्रेस र माओवादीको साथ पाएपछि स्वतन्त्रबाट विजयी उनले रौतहट २ बाट विजयी अर्का सांसद किरण साहलाई पनि साथमा लिएका छन्। 

किरण पनि स्वतन्त्र विजयी भएका प्रतिनिधिसभा सदस्य हुन्। साहको पार्टीमा सांसद साहलाई संसदीय विभाग प्रमुख बनाइएको छ।

त्यसैगरी साहको पार्टीमा तत्कालीन चुरेभावर पार्टी हुँदै एमालेमा आएका बद्रीप्रसाद न्यौपाने पनि छन्।  

उनी एमालेको समानुपातिक सूचीमा रहेर पनि सांसद हुने सम्भावना नरहेपछि एमाले छाडेर बसेका थिए। साहले एमाले छाडेको केही दिनमा न्यौपानेले पनि एमाले त्यागेका थिए। एमालेले उनको साटो परिवार दलका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको छ। 

एमालेबाट सांसद हुन नपाएका न्यौपानेलाई साहले पार्टीको बागमती र गण्डकी प्रदेश तथा विदेश विभाग इन्चार्ज बनाएका छन्। 

विवादित पृष्ठभूमिकी नेतृ करिमा बेगमले पनि यो पार्टीमा जिम्मेवारी पाएकी छन्। उनलाई आममहिला मोर्चाको इन्चार्ज बनाइएको छ। 

उनी जनता समाजवादी पार्टीले एमालेसँग चुनावी तालमेल गरेपछी मंसिरको ४ को चुनावमा पर्सा क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उठेकी थिइन्। 

तर उनी त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टीका रमेश कुर्मीसँग पराजित भइन्। उनी यो चुनावमा विजयीसँग निकटतम् प्रतिस्पर्धी पनि बन्न सकिनन्।

उनी मंसिरसम्म जसपाकिी केन्द्रीय सदस्य थिइन्। उनले मधेस विरोधी दल एमालेसँग चुनावी गबठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले गद्दारी गरेको आरोप लगाएकी थिइन्। 

०६४ को पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम ०७४ को निर्वाचनमा समानुपातिकतर्फ मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। 

बिहीबार गठित आम जनता पार्टीको बिस्तारित बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको साहले नेपालखबरलाई जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .