नेपाली कांग्रेसको संस्थापन इतर समूहले पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न फेरि समूहको बैठक बोलाउने निष्कर्ष निकालेको छ।
बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले पछिल्लो विकसित राजनीकि घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने निष्कर्ष निकालेको हो।
बालुवाटार बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले केन्द्रीय सदस्यसहितको बैठक बोलाएर फेरि छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। ‘अर्को मिटिङ बस्ने गरी आजको छलफल टुंगिएको छ,’ उनले नेपालखबरसँग भने।
बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी थिए।
बैठकमा सहभागी स्रोतका अनुसार पछिल्लो राजनीतिक घटना क्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको छ। ‘जे हुन्छ केन्द्रीय समिति बैठकमा सबै कुरा राख्ने भन्ने छलफल भयो,’ ती नेताले भने।
अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टीको प्रदेश संसदीय दलको निर्वाचनबारे छलफल गर्न आफूहरु भेला भएको प्रतिक्रिया दिए।
‘प्रदेशहरुमा दलको चुनाव हुँदैछ, त्यही बारे छलफल भएको हो,’ उनले भने।
सहमहामन्त्री पाण्डेले केन्द्रीय कार्यसमिति बैठक अघि फेरि आफूहरु बसेर धारणा बनाउने पनि बताए।
‘केन्द्रीय कार्यसमिति बैठक पहिले फेरि बसेर धारणा बनाउँछौं,’ उनले भने। सभापति शेरबहादुर देउवाले पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
Shares

प्रतिक्रिया