राजनीति


दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा केपी ओली

दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा केपी ओली

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार ११:४५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास पुगेका छन्।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटेर एमालेको नेतृत्वमा सात दलीय गठबन्धन बनेपछि ओली प्रचण्डनिवास पुगेका हुन्। 

यसअघि नयाँ गठबन्धन निर्माणका क्रममा माओवादी अध्यक्ष प्रचण्ड आइतवार ओली निवास बालकोट पुगेका थिए। त्यहीँ सात दलीय नयाँ गठबन्धन निर्माण भएको थियो। 

त्यहाँ प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल विस्तार र भावी सहकार्यबारे कुरा हुने बताइएको छ।

ओली यसअघि अन्तिम पटक २०७७ पुस ४ गते प्रचण्डनिवास पुगेका थिए। तत्कालीन नेकपामा विभाजन देखिँदै गर्दा प्रचण्डसँग वार्ताका लागि पुगेको भोलिपल्ट २०७७ पुस ५ गते संसद विघटन गरिदिएका थिए।

ओली अहिले बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि लैजाने योजनामा छन्। उनी एमालेलाई पहिलो पार्टी बनाउने योजनामा पनि रहेको बताइएको छ।

तत्कालै उनी माओवादीसँगको गठबन्धनलाई दिगो बनाउने रणनीतिअनुसार वार्तामा सक्रिय छन्। 

यसअघि नेकपा खारेज हुनुअघि ओली खुमलटार गएका थिए। त्यसयता दुई वर्षसम्म यी नेताबीच संवाद हुन सकेको थिएन। तर आफ्नै बलमा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली खुमलटार पुगेका हुन्। 

यसअघि बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको थियो। 

हात्तिवनस्थित प्रचण्डका आफन्तको निवासमा तीन नेताबीच वार्ता भएको थियो। 

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ।

यादवलाई पनि सरकारमा सहभागी गराउने प्रयत्न भइरहेको छ। जसपाले संसदीय दलको नेता चयन गरेको छैन। दलको नेता चयन भएपछि मात्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिने समाचार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad