राजनीति


वामदेव भन्छन्– माधव नेपालले प्रचण्ड र ओली नेतृत्वको सरकारलाई समर्थन गर्छु भन्नुभएको छ

वामदेवले चाहेर मात्र एकता भइहाल्ने होइन : प्रकाश ज्वाला
वामदेव भन्छन्– माधव नेपालले प्रचण्ड र ओली नेतृत्वको सरकारलाई समर्थन गर्छु भन्नुभएको छ

फाइल।


नेपालखबर
पुस १३, २०७९ बुधबार ९:२३, काठमाडौँ

नेकपा विभाजनदेखि नै वामपन्थी एक बनाउन लागिपरेका वामदेव गौतम पुनः सक्रिय भएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेसँगै गौतमले वाम एकताको प्रस्ताव अघि सारेका हुन्। 

हुन त आफैँ एक्लिँदै गएका गौतमले जहिल्यै वाम एकताको चर्चा गर्ने गरेका छन्, जसलाई धेरै वाम पार्टीका नेताहरूले विश्वास गर्न छाडिसकेका छन्। 

एमाले र माओवादीले सरकार बनाउन सहकार्य गरेपछि गौतमले फेरि हौसिएर वाम एकताको चर्चा चलाएका हुन्।

मंगलबार (१२ पुस) गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए। पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग गौतमले वाम एकताको प्रस्ताव गरेका थिए। 

‘मेरो प्रयत्न पुनः वाम एकताकै हो। उहाँ (माधव नेपाल) धेरै रिजर्भेसनमा बस्नुभएको छ,’ गौतमले बुधबार बिहान नेपालखबरसँग भने, ‘प्रचण्डसँग यसरी जाने भन्ने सन्दर्भमा दुईजना बसेर सबै योजना बनाउनुभएको रहेछ। पछि माधवलाई छाडेर जानुभयो।’

प्रचण्ड नेतृत्वको सरकारलाई सधैं समर्थन जनाउने प्रतिवद्धता पनि नेपालले राखेको उनले सुनाए।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि हस्ताक्षर गर्ने ठाउँमा पनि हामीलाई लैजानुभएन भनेर गुनासो राख्नुभयो। प्रचण्ड नेतृत्वको सरकार रहुन्जेलसम्मका लागि उहाँले सधैं समर्थन गर्छु भन्नुभएको छ।’

प्रचण्डको कार्यकालपछि केपी ओलीकै नेतृत्वमा बनेको सरकारलाई पनि समर्थन गर्न तयार रहेको नेपालले आफूलाई बताएको गौतम सुनाउँछन्।

‘नेपालले पछि केपीको नेतृत्वमा सरकार बन्यो भने पनि त्यसलाई समर्थन गर्छु भन्नुभएको छ,’ गौतमले भने। 

नेपालसँगको भेटपछि वामपन्थी एकता गर्ने आफ्नो सपना पूरा गर्नका लागि बाटो खुलेको गौतमको बुझाई छ।

‘सकारात्मक परिणाम आउने आशा मैले गरेको छु,’ गौतमले भने।

तर, अहिलेसम्म एकता वा गठबन्धनका लागि कुनै औपचारिक प्रयास नभएको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले बताए।

‘अहिलेसम्म पार्टी एकता भनेर केही प्रयास अघि बढेको छैन। वामदेवजी हिजो पार्टी कार्यालयमा आएर आफ्ना कुरा राख्नुभयो,’ भुसालले नेपालखबरसँग भने, ‘हामी पनि त्यहीँ थियौं। उहाँले आफ्ना कुरा राख्नुभयो, अध्यक्षसहित हामीले कुरा सुन्यौं। त्यसपछि उहाँ फर्कनुभयो। कुनै औपचारिक छलफल अघि बढेको छैन।’

पार्टी एकता वा गठबन्धन बनाउने कुरा सामान्य छलफलले मात्र नहुने बताउँदै अहिले चलेको सबै हल्लामात्र भएको उनको दाबी छ। 

त्यस्तै, एकीकृत समाजवादीका अर्का प्रभावशाली नेता प्रकाश ज्वाला पनि अहिले कुनै औपचारिक छलफल अघि नबढेको बताउँछन्।

‘वामदेवजीले चाहेर मात्र एकता भइहाल्ने होइन। वामपन्थीहरु एक हुनुपर्छ भनेर त हामीले पहिल्यैदेखि भनेकै हौं,’ ज्वालाले भने, ‘तर अहिलेको परिस्थितिमा भइहाल्ने अवस्था छैन। उहाँले सरकारमा जानुपर्छ भन्नुभयो। म पार्टी बलियो बनाउँछु अनि एकता गरौंला भन्नुभयो। त्यसले मात्र त के होला र?’

पहिलो चरणको वार्ता सकारात्मक भएपछि मात्र अन्य छलफल अघि बढ्ने बताउँदै अहिले त्यस्तो कुनै अवस्था सिर्जना नभएको उनले बताए।

‘औपचारिक छलफल कहीँ कतै अघि बढेको छैन। राजनीतिमा असम्भव त केही छैन,’ ज्वालाले भने, ‘तर ठोस रुपमा निश्चित दलसँग एकताका सन्दर्भमा कुराकानी अघि बढेको मैले बुझेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad