एकताको समेत तयारी भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचानक नेकपा एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेपछि नेकपा एकीकृत समाजवादीलाई संकट आइलागेको छ।
माओवादीले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन नै भंग गरेर एमालेसँग मिल्न पुगेपछि सबैभन्दा तनाव यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई परेको छ।
त्यो तनावको झल्को सोमबार प्रचण्डले राष्ट्रपतिको कार्यालयमा शपथ लिँदा पनि नेपालमा देखिन्थ्यो। उनले त्यो तनाव मंगलबार पार्टी कार्यालय आलोकनगरमा पोखेका छन्।
समाजवादी सुदूर पश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सभासद्हरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्रचण्डले आफूलाई एक वचनसमेत नसोधी एमालेसँग हात मिलाएको दुखेसो पोखे।
उनले दुई वर्ष सहकार्य गरेको अवस्थामा प्रचण्डले हठात् एमालेसँग सहकार्य गरेपछि आफू दुखित भएको पनि बताए।
'प्रचण्डजीले एक वचन सोध्दै नसोधी एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनिदिनुभयो, उहाँको व्यवहारले म दुखी छु', उनले भनेका छन्, 'केही केही मान्छेको बानी के छ भन्दाखेरि, भोलि के हुन्छ तर अहिले ठोकुवा गरिदिन्छन्। आगामी १५ वर्षसम्म पनि गठबन्धन रहन्छ भन्ने वाणी सुन्यौँ। यस्ता कुराको पक्षमा म कहिले पनि थिइनँ। कतिखेर के हुन्छ, ठेगान हुँदैन, फ्याट्ट बोलिदिन्छन्। कसैले मरिकाटे ओलीसँग मिलेर प्रधानमन्त्री बन्दिनँ भन्छन्। तर यही स्थिति रहे हुन्न भन्दैनन्।'
उनले पाँच दलीय गठबन्धनमा रहँदा कांग्रेसबाट आफूहरु पीडित भएको पनि बताए। 'चुनावमा हामी गठबन्धनमा थियौँ। चुनावी परिणामले शक्ति सन्तुलनमा हेरफेर भयो। पहिलो दल भएपछि कांग्रेसलाई के के भयो, के-के न पायौँ भनेर खुट्टा भुइँमा न भाँडामा भयो। कांग्रेस छोइसक्नु भएन। हामी कांग्रेसको रवैयाबाट पीडित भयौँ। पहिले पनि पीडित थियौँ, अहिले पनि पीडित भयौँ। उता माओवादीको रवैयाबाट पनि हामी पीडित भयौँ। कांग्रेसले पनि हामीलाई हेप्यो, माओवादीले पनि हेप्यो। हाम्रो शक्तिलाई अन्डरमाइन्ड गर्यो। बेवास्ता गर्यो।'
उनले चुनावमा कांग्रेस र माओवादी दुवैले सहयोग गरेको पनि सुनाए। उनले दुवै शक्तिले साथ नदिएको भए आफूहरुले जित्न नसक्ने बताए।
'माओवादीले साथ नदिएको भए प्रकाश ज्वाला जित्न सक्नु हुन्नथ्यो, कांग्रेसले साथ नदिएको भए भानुभक्त जोशीले जित्न सक्नु हुन्नथ्यो। हाम्रो शेरबहादुर कमरेडले पनि माओवादीको साथले लित्नु भयो', उनले भने, 'हामीलाई दुवै दलबाट साथ पनि भयो घात पनि भयो। कांग्रेस-माओवादीको साथले हामीले एमालेलाई टक्कर पनि दियौँ। हामीले गठबन्धनबाट फाइदा पनि लियौँ तर त्यसमै भर पर्दा हामीलाई नोक्सान पनि भयो।'
चुनावपछि कांग्रेसले आफ्नै शक्तिबाट सरकार चलाएको भन्ने अहमता देखाएको उनले बतए। नेपालले आफूहरुले लगाएको गुणलाई कांग्रेसले नबुझेको पनि बताए।
उनले कांग्रेस सभापति शेरबहादुर देउवाका कारण गठबन्धन फुटेको पनि बताएका छन्। 'शेरबहादुरजीले बोली फेर्नु भएको हो, देउवालाई कसैले उचालेको थियो। उहाँ फेरि प्रधानमन्त्री बन्न खोज्नु भयो। २ वर्ष कांग्रेस, २ वर्ष माओवादी र १ वर्ष हाम्रो पार्टी प्रधानमन्त्री बन्ने कुरा थियो', उनले भने, 'राष्ट्रपति हामीले पाउने कुरा पनि थियो। हामीले राष्ट्रपतिका लागि गरेका थियौँ। तर परिस्थिति फेरियो। तर कांग्रेसबाट प्रधानमन्त्री र राष्ट्रपति आफैं राख्ने भनियो। अनि वातावरण बिग्रियो। कांग्रेसको कुराले प्रचण्डजी विक्षिप्त हुनुभयो। उहाँले अब यो गठबन्धन नचल्ने बताउनुभयो। कांग्रेसको दादागिरी नसहने बताउनुभयो। मैले पनि कांग्रेसको दादागिरी नसहने बताएँ।'
Shares

प्रतिक्रिया