राजनीति


प्रचण्ड प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

प्रचण्ड प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

नेपालखबर
पुस ११, २०७९ सोमबार १३:४, चितवन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी खुसी भएका छन्। जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी खुसी भएका हुन्। 

गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जितेका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए। ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन्। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए। ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो। चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्छ।

आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन्। गोरखाबाट निर्वाचन जिते पनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झैँ जिल्लाको विकास निर्माणमा महत्त्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताइन्।

आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएका बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिइरहेका छन्। नगरप्रमुख दाहालले भनिन्, ‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ। समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ।’ 

चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता राजन गौतमले उनी प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए। जिल्लाकै जनप्रतिनिधि बनाउनुपर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जिते पनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे।

जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए। चितवनको विकासलाई देशैभर नयाँ नमुनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो।

नेकपा एमालेका नेता विजय सुवेदीले  चितवनवासीका लागि यो समय महत्त्वपूर्ण अवसर भएको बताए। यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याएको स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे। नारायणी तटबन्धजस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने धारणा देखे।

विकासका लागि पुँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उनी प्रधानमन्त्री भएपछि अझै सहज भएको बताए। प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .