राजनीति


रामचन्द्र पौडेल पुगे खुमलटार, प्रचण्डले छाडेनन् आफ्नो अडान

रामचन्द्र पौडेल पुगे खुमलटार, प्रचण्डले छाडेनन् आफ्नो अडान

नेपालखबर
पुस ९, २०७९ शनिबार १४:१३, काठमाडौँ

नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेका छन्। 

वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन भए पहिलो ‘लट’मा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडानमा देखिएका प्रचण्डसँग छलफल गर्न कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार बिहान खुमलटार पुगेका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि कांग्रेस नेता पौडेल र अध्यक्ष प्रचण्डबीच छलफल भएको खुमलटार स्रोतले पुष्टि गरेको छ।

पौडेलनिकट स्रोतले पनि प्रचण्डसँग भेटघाट भएको नेपालखबरलाई जानकारी दियो। स्रोतका अनुसार प्रचण्ड नेता पौडेलसँगको छलफलमा पनि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा यथावत् रहे। 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बालुवाटारमा दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। यसअघि शुक्रबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफल बिना निष्कर्ष टुंगिएको थियो। 

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन।

नयाँ सरकार कसले पहिले आफूले नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच कुरा नमिल्दा सहमति जुट्न नसकेको हो।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। 

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री पदमा दाबी पेस गर्न भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .