गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले सांसद भएबापत आफूले प्राप्त गर्ने सम्पूर्ण सेवासुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि उनले प्राप्त गर्ने तलब भत्ताबापतको सबै सुविधा विपतमा परेका आफ्नो निर्वाचन क्षेत्रका नागरिकका लागि खर्च गर्ने घोषणा गरेका हुन्।
‘मैले सांसद भएबापत पाउने सम्पूर्ण तलब भत्ता गोरखा क्षेत्र नं १ मा विपत्मा परेकाका लागि खर्चने घोषणा गर्दछु’, उनले भनेका छन्, ‘गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्मा परेका नागरिकको रेखदेख गर्न पुगोस् भन्ने अभिप्राय हो।’
सांसद बजगाईंले शपथ ग्रहणका क्रममा समेत आफूले जनतासँग मत मागिरहेका बेला गरेको प्रतिबद्धता सम्झिएको उल्लेख गरेका छन्।
उनले आफू गोरखा क्षेत्र नं १ को गरिब र भौगोलिकरूपमा विकट क्षेत्रका बासिन्दाको सहयोगमा सांसद बन्न सफल कुरा भएको नबिर्सिएकोसमेत उल्लेख गरेका छन्।
गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बजगाईं लोकतान्त्रिक वाम–गठबन्धनबाट विजयी भएका थिए।
Shares

प्रतिक्रिया