नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्।
बिहीवार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले यसअघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताए।
उनले भने, ‘पूर्वप्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ। हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन। हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो। जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ।’
महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए।
उनले संसदको लाइबेरीलाई संसदको सम्पत्तिको रुपमा अघि बढाउनुपर्ने बताए। उनले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि बताए।
उनले भने, ‘पहिलो संसदको लाइबेरीलाई हामीले यो संसदको सम्पत्तिको रुपमा अघि बढाउनुपर्छ। त्यसले सांसदको गुणस्तरलाई बढाउन सकिन्छ। त्यसमा हामी काम गर्छाैं।’
Shares

प्रतिक्रिया