नेपाली कांग्रेस संसदीय दलको बुधबार हुने निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन्।
आफैं दलको नेता हुन चाहेका पौडेलले अन्तिम समयमा छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा रहेका देउवालाई सघाउने निर्णय लिएका हुन्।
मंसिर ४ को चुनावअघि पौडेल पनि दलको नेता बन्ने आकांक्षीमध्ये एक थिए। तनहुँ १ बाट चुनाव जितेपछि देशलाई अघि बढाउन अब आफ्नो नेतृत्व चाहिने बताएका पौडेल देउवाको पक्षमा उभिएका हुन्।
गत वर्ष मंसिरमा भएको चौधौँ महाधिवेशनमा संस्थापन इतर समूह छाडेर मौन बसेका पौडेल विस्तारै देउवातिर खुलेका थिए।
अन्तत: उनले आफूलाई दलको नेताको चनावमा देउवालाई सघाउँदै संस्थापन पक्षमा उभ्याएका हुन्।
देउवाका लागि प्रस्तावकमा पौडेल बस्दा समर्थकमा उपभासपति पूर्णबहादुर खड्का बसेका प्रधानमन्त्रीका कानुनविद केशवराज जोशीले बताएका छन्।
उता इतर समूहबाट दलको नेतामा उठेका महामन्त्री गगन थापाको प्रस्तावक डा. शेखर कोइराला बसेका छन्। त्यस्तै समर्थकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङ बसेका छन्।
Shares

प्रतिक्रिया