राजनीति


अब बन्ने प्रधानमन्त्री २ वर्षका लागि मात्रै हो : विश्वप्रकाश शर्मा

‘प्रधानमन्त्री भन्दापनि राष्ट्रपति को बन्ने भन्ने महत्वपूर्ण भएको छ’
अब बन्ने प्रधानमन्त्री २ वर्षका लागि मात्रै हो : विश्वप्रकाश शर्मा

फाइल।


नेपालखबर
पुस २, २०७९ शनिबार १८:२९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकांक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकांक्षा नरहेको स्पष्ट पारे। ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्छन्,अनौठो कुरा होइन,’ महामन्त्री शर्माले भने, ‘अरु साथीहरुले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनि चाहन्न।’

उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने बताए। ‘विश्वप्रकाश शर्माले के बिर्सिनु हुँदैन भन्दा १ वर्ष मात्रै पुगेको छ, महामन्त्री भएको। अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरु बाँकी छन्,’ उनले भने, ‘दूर दराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ । सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन।’

कुनैबेला एक्लै दुई तिहाई ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए। 

‘एक्लै दुई तिहाई ल्याएको कांग्रेस अहिले सबै मिलेर लड्दा पनि जम्मा ५७ सिट मात्रै ल्याइरहेको अवस्थामा चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन। मैले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्नेदेखि लिएर ध्यान दिन उचित हुन्छ। सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्छ,’ महामन्त्री शर्माले भने।

उनले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताए।

महामन्त्री शर्माले यतिबेला सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्ने बेला रहेको पनि बताए।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए। उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए।

‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ। प्रधानमन्त्री को बन्नुहुन्छ? दुई वर्षलाई बन्नुहोला। लुकाउने अवस्थै छैन,’ महामन्त्री शर्माले भने, ‘हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन्। यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ। यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन।’

राष्ट्रपति भवनमा व्यक्ति नभइ प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रस्तुती हुनसक्नपर्ने उनले बताए। 

महामन्त्री शर्माले कांग्रेसले गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यक्ता भएको बताए।

‘मेरो मस्तिष्कमा राष्ट्रपति को बन्नुपर्छ भन्ने बारेमा त्यस्तो अनुहार छैन । तर राष्ट्रपति भवनमा आउँदै गर्दा के बिर्सिनु हुँदैन भने नकारात्मक कुराहरु बिर्सिनु हुँदैन,’ उनले भने, ‘राष्ट्रपति भवनमा हामीले व्यक्ति होइन, प्रवृत्ति लिएर जाने हो। त्यो प्रवृत्ति राजतन्त्रकालिन भन्दा भिन्न हुनुपर्छ। तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रस्तुति हुन सकोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .