ad ad

राजनीति


मधेश प्रदेशमा ७ सय ८९ उम्मेदवारको धरौटी जफत, ३७.३९ प्रतिशत महिला निर्वाचित

मधेश प्रदेशमा ७ सय ८९ उम्मेदवारको धरौटी जफत, ३७.३९ प्रतिशत महिला निर्वाचित

जयन्त ठाकुर
पुस २, २०७९ शनिबार १५:५५, जनकपुरधाम

मधेश प्रदेशमा २६ राजनीतिक दलका ७८९ जना उम्मेदवारको धरौटी जफत भएको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये मधेस प्रदेशमा २६ वटा राजनीतिक दलको धरौटी जफत भएको छ।

यस प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ७२४, महिला उम्मेदवार ६४ र अन्य उम्मेदवार १ गरी कूल ७८९ जनाको धरौटी जफत भएको हो। 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ९ मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। सो व्यवस्था अनुसार यस प्रदेशमा १० वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार मधेस प्रदेशको प्रदेश सभातर्फ १०७ जना निर्वाचित भएका छन््। जसमा पुरुष ६७ जना (६२ दशमलव ६१ प्रतिशत) र महिला ४० जना (३७ दशमलव ३९ प्रतिशत) निर्वाचित भएका हुन्।

मधेश प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए। प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ९३२, महिला ७४ र अन्य १ गरी कूल १ हजार ७ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ८६३ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।

प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यस प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४, पुरुष १८ लाख २७ हजार ८५४ र अन्य ७० गरी कूल ३३ लाख ८६ हजार ६२८ मतदाता कायम रहेका थिए।

यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र रहेका थिए। निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २२ लाख २५ हजार ७४६ (६५ दशमलव ७२ प्रतिशत) मतदान भएको थियो जसमध्ये २१ लाख ४० हजार २३ (९६ दशमलव १५ प्रतिशत) मत सदर भएको थियो भने ८५ हजार ७२३ (३ दशमलव ८५) प्रतिशत मत बदर भएको थियो।

त्यस्तै, समानुपातिक निर्वाचनमा २२ लाख ३० हजार ७०१ (६५ दशमलव ८७ प्रतिशत) मतदान भएको आयोगले जनाएको छ। 

जसमध्ये २० लाख ८६ हजार २९८ (९३ दशमलव ५३ प्रतिशत) मत सदर भएको थियो भने १ लाख ४४ हजार ४०३ (६ दशमलव ४७ प्रतिशत) मत बदर भएको थियो।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपति समक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट शनिबार मधेस प्रदेशसभा सदस्य निर्वाचन, ०७९ को परिणमसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको हो। 

निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .