ad ad

राजनीति


धनराज गुरुङको बयान- ओलीले यहाँबाट हट्नूस् भन्नुभयो, मैले झन् चर्का नारा लगाइरहेँ

धनराज गुरुङको बयान- ओलीले यहाँबाट हट्नूस् भन्नुभयो, मैले झन् चर्का नारा लगाइरहेँ

सागर न्यौपाने
जेठ ३, २०८१ बिहिबार २०:१४, काठमाडौँ

प्रतिनिधि सभाको बिहीबार (जेठ ३ गते) बिहान ११ बजे बोलाइएको बैठक साँझ ६ बजे मात्र सुरु भयो।

सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अघि बढाए। त्यसलगत्तै कांग्रेसका सांसदहरू नराबाजी गर्दै वेल घेराउ गर्न पुगे।

तर, सभामुख रोकिएनन्। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। त्यसमा सरकार विस्तारसम्बन्धी पत्र पनि थियो। यतिबेलासम्म कांग्रेसका सांसदको नाराबाजी जारी थियो।

केहीबेरपछि सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए।
त्यसपछि भने कांग्रेस सांसदहरूको नाराबाजी झन् चर्काे भयो।

कांग्रेस सांसदहरूले वेल घेरेर नाराबाजी चर्काएपछि गृहमन्त्री लामिछाने बोल्न जान सकेनन्।

तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बसेको ठाउँबाट उठे र कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङसँग केही भनाभन गर्न थालेको देखियो। 

ओली नै भनाभनमा उत्रिएपछि गुरुङले नारा झन् चर्काए। ओलीतिरै फर्काएर उनले हात माथिमाथि उठाएको देखिथ्यो। 
सञ्चारमन्त्री रेखा शर्मा स्थिति साम्य पार्न प्रयास गरेको दृश्यमा देखिन्छ। 

ओलीलाई कांग्रेसका प्रदर्शनरत सांसदले घेरा हालेको देखेपछि एमालेका सांसद ठाकुर गैरे र प्रमुख सचेतक महेश बर्ताैला त्यो घेरा तोड्दै ओली भएठाउँ पुगे।

उता कांग्रेसका सांसद प्रकाशशरण महत पनि त्यहीँ आए। उनी बीचमा बसेर माहोल मिलाउन खोज्दै थिए। तर, कांग्रेसका अरू सांसदहरू र एमालेका सांसदहरूबीच झण्डै हात हालाहालको अवस्था उत्पन्न भइसकेको थियो। 

त्यहीबीचमा सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आफ्नो आसनमा बस्न भने र संसद बैठक स्थगित गरे। 

बैठक स्थगतको सूचनापछि नाराबाजी रोकियो।

खासमा त्यहाँको भनाभनको विषय के थियो? ओली र गुरुङबीच के कुरा भयो त? यसै विषयमा नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग नेपालखबरले  गरेको संक्षिप्त कुराकानी– 

संसदमा झण्डै झडपको अवस्था उत्पन्न भएको देखियो। तपाईँ र ओलीबीच धकेलाधकेल कसरी भयो?
म जहाँ उभिएको थिए, हामी प्रतिपक्षी वेल घेराउमा थियौँ।

नम्बर एक वेल घेराउमा प्रतिपक्ष उभिएको बेलामा सत्ता पक्ष उभिने संसदीय मर्यादाभित्र पर्दैन।

नम्बर दुई, जहाँ म आफैँ उभिएको थिएँ, एमाले अध्यक्ष उठेर आएर तपाईँ यहाँबाट हट्नूस्, उता नउभिनूस् भन्नुभयो। त्यो भन्नुभयो तर मैले लगातार नारा लगाइरहेँ।

जबरजस्ती गर्न पाइँदैन भन्ने नारा थियो। त्यही नारा लगाइरहे।

ओली नै उभिएपछि त ओलीको अगाडि को बढी भक्त हुने भनेर उठेर त आउनैप¥यो। अनि उनीहरू आएर मलाई घचरमचर गरे।
ओलीले यहाँबाट हट्नूस्, तपाईँ यहाँ उभिन पाउनुहुन्न भन्नुभयो।

म चाहिँ ओलीको कुरा सुने पनि नसुनेको झैँ गरेर उनीप्रतिको सवालजवाफ भन्दा मैले नारा लगाइरहेँ।

मैले नारा लगाइरहँदा ओली नै उठेको देखेपछि उनका पछाडिबाट केही सांसदहरू आएका हुन्।

त्योचाहिँ संसदीय मर्यादाभित्र पर्दैन।

ओलीले त्यहाँ उभिन पाइँदैन, हट्नूस् भन्ने कुरा पनि संसदीय मर्यादाभित्र पर्दैन।

ओली उठेपछि अरू आएर धकेलमकेल गर्नु पनि संसदीय मर्यादाभित्र कुनै कोणबाट पर्दैन।

गृहमन्त्री लामिछानेलाई सभामुखले बोल्न दिएपछि कांग्रेस किन आक्रोशित भएको त?
सभामुखले जबर्जस्ती गर्नुभयो नि त।

संसदीय मर्यादा भनेकै वेल घेराउ होइन, प्रतिपक्ष उभिँदाखेरि मात्रै पनि संसद अवरुद्ध भएको मानिन्छ। यो त सभामुखको भूमिकामाथि पनि प्रश्न उठ्ने अवस्था भयो।

उहाँले एउटा सभामुख न्युट्रल भूमिकामा हुनुपर्ने कुरा खण्डन गर्नुभयो।

सभामुखबाट निर्वाचित भएपछि पार्टीको सदस्यता त्याग्नुको अर्थ के त? तटस्थताका लागि हो नि।

उहाँले जसरी जबर्जस्ती गर्नु खोज्नुभयो, त्योचाहिँ संसदीय पद्धतिभित्र पर्दैन।

र, यो जबर्जस्तीले सभामुखको न्युट्रालिटी पनि भएन।

आजको उहाँको भूमिकाले गम्भीर प्रश्न उठाएको छ। प्रमुख प्रतिपक्ष उठेको मात्र होइन, वेल नै घेर्न जाँदा संसदका कार्यसूची अगाडि बढाउन खोज्नु भनेको उहाँको एकदमै ठूलो कमजोरी पनि हो। संसदीय मर्यादालाई उहाँले भुल्नुभयो।

पार्टीको कार्यकर्ताजसरी उहाँ (सभामुख) प्रयोग हुनुभयो।

नेपाली संसदीय पद्धतिमा यो अनौठो घटना पनि भयो र यो वास्तवमा क्षम्य पनि छैन।

त्यसो भए अब कांग्रेसले के गर्छ?
अब के गर्ने भन्दा भोलि (शुक्रबार बिहान) बजे संसदीय दल कार्यसमितिको बैठक बस्छौं। ९ बजे संसदीय दलको बैठक बस्छौँ।
अनि संसद घेराघेर गर्छाैँ।

प्रधामन्त्रीले सहमतिको वातावरण बनिरहेको बताइरहनुभएको थियो, दिनभर त्यसमै छलफल पनि भयो तर फेरि कुरा कहाँबाट बिग्रियो ? 

हो, निश्चय नै सहमतिको वातावरण बनाउने भनेरै हाम्रो पार्टीका तर्फबाट माननीय सांसद सहमहामन्त्री जीवन परियारलाई पठाएको हो।

सत्तापक्षभित्र कहाँकहाँ केके भयो, मलाई थाहा छैन। हामीले चाहिँ सकेसम्म यो विषयमा सत्तापक्षले यदि हाम्रो बटमलाइन संसदीय छानबिन समिति गठनको कुरालाई मानेर अघि आउँछन् भने हामी त्यसमा मिलेरै जान तयार भएकै हो।

संसदीय छानबिन समितिमा क्षेत्राधिकारको विषयमा कुरा नमिलेको भनेको होइन? त्यो क्षेत्राधिकार कसरी तय गरिँदै थियो ?
एउटा कुरा त समस्याग्रस्त सहकारीहरूको समस्या पहिचान गरेर त्यसलाई पनि सम्बोधन गर्नुपर्छ। 

त्यस्तै गरेर रवि लामिछाने जोडिएको जुन केस छ, त्यसमा पनि छानबिन गर्ने र बचतकर्ताहरूलाई उनीहरूको बचत कुनै पनि उपाय लगाएर फिर्ता गर्ने। यति तीनवटा कुरा न हामीले भनेको हो। त्यही पनि मान्दिनँ भनेपछि हामीले के गर्ने त? 


 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .