टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर हाल डिल्ली बजार जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नाममा सरकारले अन्तै तीर हान्न खोजेको आरोप लागेको छ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा हाल जेलमा रहेका कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई छुटाउने योजना सरकारले बनाएको आरोप विपक्षी दलहरुले लगाएका हुन्।
नेकपा एमालेका सचिव योगेशुकमार भट्टराईले इँटाभट्टामा ज्युँदै मान्छे पोलेर हत्या गरेको आरोपमा सजाय भोगिरहेका आलमलाई छुटाउने भित्री योजनासहित मुलुकी फौजदारी संहिता कार्यविधि संशोधन गर्न लागेको दाबी गरेका हुन्।
१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा आलमलाई प्रहरीले पक्राउ गरेपछि आलम अहिले जेलमा छन्।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।
आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको आरोप उनीमाथि थियो।
'रेशमको नाम, अफ्ताबको काम। राजनीतिमा अपराधीकरण। अपराधको राजनीतिकरण', उनले भनेका छन्, 'देश भाँडमा जाओस कि ब्यवस्था बदनाम होस के मत्लब! गठबन्धन रहुन्जेल, यो त कास्टिङ मात्रै हो। पूरा सिरिज त आउन बाँकी नै छ।'
आइबार बसेको मन्त्रिपरिषद् बैठकले भविष्यमा नजिर कायम नहुने गरी मुलुकी फौजदारी संहिता कार्यविधि संशोधनको निर्णय लिएको थियो।
त्यसो हुँदा रेशम चौधरी, डा. सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ता रिहा गर्न सहज हुने सरकारको निष्कर्ष छ।
तर यसलाई लिएर सरकार अहिले आफ्नै र प्रतिपक्षीबाट पनि घेरिएको छ। यस्तोमा आलम मुछिएको घटनालाई पनि राजनीतिक रंग दिएर उनलाई पनि जेलबाट रिहा गर्ने योजना सरकारले बनाएको आरोप लागेको हो।
त्यस्तै एमालेका अर्का नेता महेश बस्नेतले पनि यही आशंका गरेका छन्। उनले रेशम चौधरीको नाममा अफताव आलमलाई रिहा गर्ने तयारी सरकारले गरेको बताए।
'हिजो एमालेको सरकार ढाल्न परमादेश, एमाले फुटाउन अध्यादेश। आज सरकार बनाउने स्वार्थको लागि, अपराधी छुटाउन अध्यादेश, नाम रेशम चौधरीको, प्रयोजन अफ्ताब आलमको', उनले भनेका छन्, 'देउवा सरकारको उपहार अध्यादेश, परमादेशको बहार।'
प्रतिक्रिया