राजनीति


समानुपातिकतर्फ ५ वटा दलले सूची सच्याउनपर्ने, कहिले हुन्छ सार्वजनिक?

आयोगका प्रवक्ता भन्छन्– दलहरूले बुझाएपछि पुनः एकपटक करेक्सन गर्छौं
समानुपातिकतर्फ ५ वटा दलले सूची सच्याउनपर्ने, कहिले हुन्छ सार्वजनिक?

फाइल तस्बिर।


नेपालखबर
मंसिर २६, २०७९ सोमबार ७:२२, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदहरुको नामावली सच्याउन आज (२६ मंसिर) सम्मको समय दिएको छ। राजनीतिक दलहरूले सोमबार दिउँसो ४ बजेभित्र क्लस्टर अनुसार नमिलेका सांसदहरूको नामावली सच्याएर आयोगमा बुझाइसक्नपर्नेछ। 

निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार केही राजनीतिक दलहरूले क्लस्टर अनुसार नाम नमिलाई सूची पेश गरेका छन्। ‘ती राजनीतिक दलहरूलाई आज दिउँसो ४ बजेसम्मको समय दिइएको छ,’ उनले नेपालखबरसँग भने, ‘राजनीतिक दलहरूले बुझाएको नामावली हेरेर पुनः एकपटक करेक्सन सहित नामावली प्रकाशन हुनेछ।’

आयोग निकट स्रोतका अनुसार आजै नामावली प्रकाशन हुने संभावना कम छ। ‘राजनीतिक दलहरूले सच्याएर नामावली पठाएपछि पुनः आयोगका कर्मचारीले त्यसलाई भेरिफाइ गर्नुपर्ने हुन्छ। त्यसकारण आजै नामावली प्रकाशन नहुन पनि सक्छ,’ आयोग निकट स्रोतले नेपालखबरसँग भन्यो। 

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ। त्यसका लागि गत शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए।

थ्रेसहोल्ड कटाएका सात वटा राजनीतिक दलले मात्र आयोगमा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची बुझाएका थिए।

राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी आयोगले नमिलेका नामहरु पुनः सच्याउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ। 

कुन-कुन दलको सूची सच्याउनपर्ने?
संघीय संसदमा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट प्राप्त गरेका छन्।

यसमा बन्दसूचीमा समावेश भएका नामहरुबाट दलहरूले आयोगमा सांसदहरूको सूची बुझाएका थिए। ७ मध्ये छ वटा राजनीतिक दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएपछि सच्याएर पठाउन आग्रह गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए। 

‘५ वटा राजनीतिक दलहरूलाई पुनः सूची सच्याएर पठाउनका लागि भनेका छौं,’ पौडेलले नेपालखबरसँग भने। उनका अनुसार ती दलहरुले प्रदेशसभातर्फको सूचीमा त्रुटी गरिएको भेटिएको हो। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीै र नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फका सांसदहरुको छनोटमा विभिन्न प्रकारका गल्तीहरु गरेका छन्। जुन सच्याएर पेश गर्नका लागि आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad