ad ad

राजनीति


कांग्रेसमा देउवाको विकल्प खोज्नु हुँदैन : उपसभापति खड्का

कांग्रेसमा देउवाको विकल्प खोज्नु हुँदैन : उपसभापति खड्का

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १६:५०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्। 

बिहीवार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन्।

उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताए। 

उनले भने, ‘कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ। त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ। त्यही दिशामा अगाडि बढाउनका लागि वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशीलता पनि रहनेछ। सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ। सत्ता गठबन्धन होमिएको छ। विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ। सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिले हामी कांग्रेसभित्रको एकताको वातावरण बनाउनु छ। सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ।’ 

उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए। उपसभापति खड्काले यो बेलामा कांग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए। कांग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे। 

उनले भने, ‘कांग्रेसले आफू एकतावद्ध भएर अहिले रहेको सत्ता गठबन्धनलाई पनि एकतावद्ध रहेर त्यसपछि अरु बाँकी दलहरुलाई पनि यो मुलुकको विकास निर्माणको अभियानमा, संसदलाई प्रभावकारी बनाउने अभियानमा सबैलाई जोडेर जानुपर्ने पहिलो पार्टी भएको नाताले नेपाली कांग्रेसको मुल दायित्व छ। त्यो दायित्वलाई हामी सबैले गम्भिरतापूर्वक लिएर अगाडि बढ्यौँ। छलफल र संवाद गर्यौँ भने मलाई लाग्छ संसदीय दलको नेताको निर्वाचनपनि सर्वसम्मत तरिकाले अगाडि बढ्न सक्छ। सबै खालको र सबै तहको नेतृत्वलाई, सबै उमेर समूहको नेतृत्वलाई सबै ठाउँमा समावेश गरेर सबै तहमा मिलाएर लिन सकिन्छ। र मिलाउनुपर्छ भन्ने मलाई लाग्छ र त्यो विश्वास पनि छ।’

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे। व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाई छ। उनले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिए।

उनले सत्तागठबन्धनकै सरकार बनाउने बताए। वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए। त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडि बढाएका उनले उल्लेख गरे। 

सहमतिमै सरकारको नेतृत्वको चयन हुने उनले स्पष्ट पारे। उनले कानून निर्माणको कामलाई तीब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताए।

उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। उनले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .