ad ad

राजनीति


नयाँ सरकार गठनमा गठबन्धनको निर्णय हेरेर एमालेले ‘पोजिसन क्लियर’ गर्ने

प्रदीप ज्ञवाली भन्छन् : प्रचण्डका लागि देउवा नै ‘कम्फर्टेबल’ छन्
नयाँ सरकार गठनमा गठबन्धनको निर्णय हेरेर एमालेले ‘पोजिसन क्लियर’ गर्ने

नेपालखबर
मंसिर १४, २०७९ बुधबार २०:५७, काठमाडौँ

बहुमतसहित आगामी नयाँ सरकारको नेतृत्व गर्ने दाबी थियो, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको। तर, एमालेको बहुमत आएन।

एमाले आगामी संसदको दोस्रो ठूलो दलको रुपमा दर्ज भएको छ। परिणाम अन्तिम चरणमा पुग्दैगर्दा अब बन्ने सरकारका बारेमा पनि एमालेभित्र आन्तरिक गृहकार्य सुरु भएको छ। अन्य कुनै दलसँग सहकार्य गरेर सरकारमा जाने वा प्रतिपक्षी भूमिकामा बस्ने भन्नेबारे औपचारिक निर्णय भइसकेको छैन। 

सत्तारुढ र एमाले गठबन्धन दुवैको स्पष्ट बहुमत नआउने देखिएपछि नयाँ सरकारका बारेमा अन्यौल बढेको छ। यस्तोमा आन्तरिक छलफल गरेपनि एमालेले सत्तारुढ गठबन्धनको ‘मुभ’ हेरेर मात्र निर्णय लिने भएको छ। 

सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूले चुनावपछि गठबन्धनकै सरकार कायम राख्ने दाबी गर्दै आइरहेका छन्। रुपन्देही–३ बाट पराजित भएका गृहमन्त्री बालकृष्ण खाणले आजै मात्र पाँच दलीय गठबन्धन कायम राख्ने दाबी गरेका छन्। 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अहिले नै यसबारे निर्णय लिइएको छैन। 

तर, देशलाई अनिर्णयको बन्दीमा नराख्न आफूहरु सत्तामा बसेर नेतृत्व गर्न पनि पछि नहट्ने उनले बताए। 

‘देशलाई अनिर्णयको अवस्थामा राख्न दिँदैनौँ। त्यो अवस्थामा हामी निर्णय लिन तयार छौँ,’ ज्ञवालीले भने। 

माओवादीभित्र केही असन्तुष्टिका आवाजहरु सुनिएको भएपनि प्रचण्डले त्यसलाई म्यानेज गरेरै देउवासँग सहकार्य नटुटाउने उनले बताए। 

‘बढी सम्भावना त गठबन्धन नै कायम राखेर बन्ला, माओवादीभित्र असन्तुष्टि त छ। तर त्यहाँ प्रचण्ड नै निर्णायक हो। प्रचण्डका लागि कम्फर्टेबल शेरबहादुर देउवा नै हो,’ ज्ञवालीले भने, ‘बाह्य शक्तिको चाहना पनि त्यस्तै देखिन्छ। राजनीतिले पनि त्यही खालको संकेत गर्छ।’

सहज अवस्थामा सरकार बनाउन आफूहरु तयार भएको भन्दै अनुचित सम्झौता भने नगर्ने उनले सुनाए। 

एमालेकै अर्का एकजना नेता भने सत्ता गठबन्धनको मुड र निर्वाचन परिणाम आइनसकी केही बोल्न नसकिने बताउँछन्। ती नेताका अनुसार परिणाम आउनुअघि नै सत्तारुढ मुख्य घटक कांग्रेसभित्रका नेताहरुले धमाधम प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नुले पनि एमालेले तत्काल निर्णय नलिने मुडमा एमाले पुगेको हो। 

‘पहिलो कुरा त कांग्रेसले अहिले सरकारको नेतृत्व छाड्ने कुरा गरेको छैन,’ गगनदेखि शशांकसम्मको दाबी छ। यो अवस्थामा अब उहाँहरुको निर्णय नकुरी हामी यसै गर्ने भनेर भन्दैनौँ।’

दोस्रो, सत्ता गठबन्धनभित्र आवद्ध दलहरुको पोजिसन हेर्ने। 

‘सत्ता गठबन्धनका दलहरुभित्रको पोजिसन हेरिन्छ,’ एमालेका ती नेता भन्छन्, ‘तर कांग्रेससँग हाराहारी सिटमा छौँ। एउटै पार्टीको सरकार बन्न सक्ने परिणाम छैन। उनीहरुले त्यो प्रयास कहाँ पुर्याउँछन् त्यसको आधारमा हामीले पोजिसन क्लियर गर्छौं।’ 

सत्तारुढ गठबन्धनका दलहरु एक भएको खण्डमा एमाले प्रतिपक्षमा बस्ने पनि उनले बताए। 

‘गठबन्धनमा रहेका दलहरु एक भएको खण्डमा हामी केही बोल्दैनौँ,’ ती नेताले भने, ‘उनीहरुको निर्णय नआई हामीले सरकार चलाउँछौं मात्र भनेर पनि हुँदैन। उनीहरु गठबन्धनमै बस्छन् भने हामी रचनात्मक प्रतिपक्षी बनेर बस्छौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .