राजनीति


बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा फर्काउन गृहमन्त्रीको निर्देशन

बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा फर्काउन गृहमन्त्रीको निर्देशन

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:१४, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउन वातावरण निर्माण गर्न निर्देशन दिएका हुन्। 

आइतबारको निर्वाचनमा मतदान भइरहेको बेलामा बाजुरा प्रशासनका अनुसार त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै दुई पक्षबीच झडप हुँदा बयलपाटा अस्पताल अछाममा एमाले कार्यकर्ता चेतन ऐडीको मृत्यु भएको थियो। 

त्यसपछि आज बिहानसम्म त्रिवेणी नगरपालिका ७ को अवस्था तनावपूर्ण थियो । तनावपूर्ण अवस्थालाई सामान्यीकरण गरी शान्तिपूर्ण वातावरण निर्माण गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।
 

केन्द्र र जिल्लाले पहल गरेपछि अहिले त्यहाँको अवस्था बिहानको भन्दा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले जानकारी दिए।

गृह मन्त्रालयका प्रवक्तासमेत रहनु भएका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव पोखरेलले केन्द्र र जिल्लाको पहलले बाजुराको त्रिवेणीको अवस्था सामान्य बन्दै गएको जानकारी दिए।

यसैबीच गृहमन्त्री खाणले बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ९ जना घाइते भएको घटनाबारे जानकारी लिँदै घाइतेलाई उचित उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।

बैतडीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा केन्द्रका सुरक्षा प्रमुखहरुसँग यसबारे जानकारी लिँदै उचित उपचारको प्रबन्ध मिलाउन र जिल्लाको स्रोतले नपुग्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका हुन्।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो। 

१२ जना सवार जिप सडकबाट करिब २ सय मिटर तल खसेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .