राजनीति


आजै राति ९ बजेबाट मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

आजै राति ९ बजेबाट मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:६, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मतगणना कार्य सुरु गरिने बताएका छन्।

आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान गरेपछि सो कुरा बताएका हुन्। 

बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान सुरु भएको छ। आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए। 

आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने उनले बताए। 

‘अहिलेसम्मको सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको छ । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न हुन्छ । ७० प्रतिशत भन्दा बढी मतदान हुन्छ भन्नेमा हामी ढुक्क छौँ,’ निर्वाचन आयुक्त थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ,’

उनले हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए।

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए।

उनले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने बताए। ‘सबैले मत हालौँ। हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना सुरु गर्ने भनेका छौँ। ८ दिन भित्रमा सबै नतिजा दिने तयारीमा छौँ,’ उनले भने, ‘मंसिर २२ गते भित्रमा सबै नतिजा आउनेछ। अहिले सुरु सुरुमा भएकाले सबै कुरा व्यवस्थित भइनसकेकाले एक जनालाई झन्डै २ मिनेट लाग्ने देखियो। व्यवस्थापन सहजीकरण गर्न आग्रह गर्दछु’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .