राजनीति


कर्मचारीको गल्तीले प्रदेशको मत संघको बाकसमा, संघको मत प्रदेशको बाकसमा

कर्मचारीको गल्तीले प्रदेशको मत संघको बाकसमा, संघको मत प्रदेशको बाकसमा

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:९, काठमाडौँ

आमनिर्वाचनअन्तर्गत देशका केही ठाउँमा निर्वाचन आयोगका कर्मचारीका कारण गडबडी भएको छ। 

संघीय संसद र प्रदेशसभाको एकै दिन मतदान भइरहँदा मतदान केन्द्रमा निर्वाचन आयोगले खटाएका कर्मचारीहरुको लापरबाहीका कारण एउटाको मत अन्तै खसेको हो। 

देशका दुई ठाउँमा संघको मत प्रदेशको बाकसमा खसेपछि समस्या भएको छ।

प्राप्त विवरण अनुसार रुपन्देहीको सालझण्डीस्थित पशुपति माध्यमिक विद्यालय केन्द्रमा कर्मचारीहरुले प्रदेशको ठाउँमा संघको मतपत्र दिएपछि विवाद भएको छ।

कर्मचारीले प्रदेशसभातर्फ दिनुपर्ने ठाउँमा  संघीय संसदकै ३० वटा मतपत्र मतदाताको हातमा थमाइदिएका हुन्। 

मतदाताले पनि कर्मचारीले दिएको संघीय संसदकै ३० वटा मतपत्रमा मतदान गरेर प्रदेशसभाको बाकसमा खसाएका छन्। 

उता झापामा पनि यस्तै गल्ती भएको छ। प्रदेशको मतपत्र संघीयको बाकसमा र संघीयको मतपत्र प्रदेशको बाकसमा खसेको छ।

झापा नगरपालिका-५ को गौरीगञ्जस्थित गौरी प्राविको मतदान त्यहीकारण स्थगित भएको छ।

निर्वाचनमा खटिएका कर्मचारीको कमजोरीका कारण मतदाताले संघको मतपत्र प्रदेशमा र प्रदेशको मतपत्र संघमा खसालेका हुन्।

धनुषाको कमला नगरपालिका–६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा पनि कर्मचारीको यस्तै गल्ती मतदान रोकिएको छ।

मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको दिएको पाइएपछि बिहान ९ बजेदेखि मतदान रोकिएको हो। त्यसबेलासम्म ७० वटा मत खसिसकेको थियो।

यसैगरी सप्तरी क्षेत्र नम्बर २ को राजविराज नगरपालिका-११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र ‘क’ मा पनि प्रतिनिधि सभातर्फको मत पत्रको ठाउँमा प्रदेश सभाको दिइएको छ। 

त्यहाँ पनि झण्डै डेढ घण्टा मतदान रोकिएको छ। त्यसबेलासम्म ३९ जनाले मतदान गरिसकेका थिए।

बाराका दुबै केन्द्रमा मतदान सुरु
ब्यालेटबक्स उल्टो परेपछि रोकिएका बाराका दुबै केन्द्रमा मतदान सुरु भएको छ।

कलैया उपमहानगरपालिका २५ ससिनाया मतदान केन्द्र र जितपुर १३ पोताको मतदान केन्द्रमा मतदान अधिकृतले प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको ब्यालेट बक्समा र प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको ब्यालेट बक्समा खसालेपछि केही समय मतदान रोकिएको थियो। 

अहिले दुबै मतदान केन्द्रमा नयाँ ब्यालेटबक्स राखेर मतदान सुचारु गरिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .