ad ad

राजनीति


मतगणना सरल र सहज हुने

मतगणना सरल र सहज हुने

फाइल फाेटाे


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ५:३६, काठमाडौँ

आज (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ।

स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मत गणनामा अलमल नहुने काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए। उनले भने, “हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाइ भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ।” 

स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो। निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।

उम्मेदवारको सङ्ख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउन पर्ने भएकाले पनि त्यस बेला मतगणना लम्बिएको थियो। यस पटकको निर्वाचनमा बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक–एक स्वस्तिक छाप मात्र लगाउन पर्ने भएकाले पनि गणनामा निकै सहजता हुने अपेक्षा गरिएको छ। 

आयोगले छिटो, छरितो र पारदर्शीरुपमा मतगणनाका लागि मिलाउन यसअघि नै निर्देशन दिइसकेको छ। मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन र भण्डारण गरिनेछ। त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ। 

पर्याप्त सुरक्षासहितको मतगणनास्थलमा सुरुमै आवश्यकताअनुसार टोली खटाएर मतगणना प्रारम्भ हुनेछ। गणना टोलीमा चारदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरी निरन्तर मतगणना हुनेछ। कतिपय निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको नतिजा एक–एक घन्टामा माइकद्वारा जानकारी गराइने व्यवस्था गरिएको पाइएको छ।

सबैभन्दा पहिला मतगणना प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र त्यसपछि प्रदेशसभा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको गरिने छ। प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना हुनेछ।

यसैबीच, काठमाडौँ डिल्लीबजारस्थित विजय स्मारक मतदान केन्द्रका ‘क’ का मतदान अधिकृत भगवान् उप्रेतीले निर्वाचनका लागि मतदान केन्द्र स्थापनाको तयारी पूरा गरी मतदान गर्न एक जनालाई कति समय लाग्दो रहेछ भनी पूर्वाभ्याससमेत गरेको जानकारी दिए। काठमाडौँका मुख्य निर्वाचन अधिकृत खतिवडाले जिल्लाका सबै १० वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .