मंसिर १ गते आज राजनीतिक दलहरूको चुनावी सभागर्ने अन्तिम दिन। निर्वाचन आयोग नेपालले गत कात्तिक १७ गतेदेखि दिएको चुनाी सभा तथा प्रचार–प्रचारको समयअवधि बिहीबार राति १२ बजेबाट बन्द हुने भएको छ।
१२ बजेबाट प्रचार–प्रसार तथा चुनावी सभाको समय सकिएसँगै ‘स्थिर समय’ सुरु हुने भएको छ। यसै समयलाई मध्यनजर गर्दै वाम–लोकतान्त्रि गठबन्धनले आज अन्तिम दिन सुर्खेतको वीरेन्द्रनगरमा चुनावी आमसभाको आयोजना गरेको थियो।
उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकोहोरो आलोचना मात्रै गरेका छन्।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका खड्काले विगतमा संसदमा एमालेले गरेको विभिन्न कुराहरू कोट्याउँदै विरोध गरेका हुन्। बिहीबार नै सल्यान जिल्लाको बागचौरमा भएको गठबन्धनको चुनावी सम्बोधन गरेर वीरेन्द्रनगर पुगेका थिए। वीरेन्द्रनगर पुगेर करिब ५० मिनेट भाषण गरेका थिए।
यस्तै, खड्काले एमालेको प्रतिगमन, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि दलहरुबीच गठबन्धन गरिएको बताए।
‘यो गठबन्धन कुनै दलहरुको रहरले बनेको होईन, रातारात चुनाव जित्न पनि यो गठबन्धन बनेको होईन,’ उनले भने, ‘अलोकतान्त्रिक कदम, एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको हो।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा आफूलाई जनताभन्दा माथि ठान्दै व्यक्तिवादी शासनमार्फत् अलोकतान्त्रिक कदम चाल्न थालेपछि दलहरु सडकमा आएको र त्यही सडक आन्दोलनमार्फत् गठबन्धनको सिर्जना भएको उपसभापति खड्काले बताए।
‘२०७४ मा एमाले अध्यक्ष ओलीले चुनाव जित्न रातारात गरेको गठबन्धन जस्तो यो गठबन्धन होइन’ उनले भने।
अहिलेको निर्वाचनमा जनताको मतले संविधान भत्काउने वा रक्षा गर्ने निर्णय गर्ने भन्दै उनले संविधानको रक्षा, देशको तीब्र विकास चाहने मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।
उनले गठबन्धनमार्फत १२ बुँदे शान्ति प्रक्रियालाई पूर्णता दिन खोजिएको बताए।
‘हामीले शान्ति सम्झौताले परिकल्पना गरेका कामहरुलाई पूर्णता दिन ऐन संशोधनको तयारी गरेका थियौं, एमालेको विरोधका कारण यो संशोधन विधेयक समितिमा अड्किएको छ,’ उनले भने, ‘निर्वाचनपछि बन्ने सरकारले यसलाई निरन्तरता दिन्छ।’
अब मंसिर ४ गतेपछि बन्ने गठबन्धन सरारकारले बजेट छुट्याउँदा कर्णालीलाई पहिलो प्राथमिकता दिनेगरी दलहरुबीच सहमति भएको उनले बताए।
साथै खड्काले मंसिर ४ को चुनावले अग्रगमन र प्रतिगमनलाई निर्धारण गर्ने बताए। उनले केपी ओलीको प्रतिगमनलाई साथ दिनेकी सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको बताए। खड्काले ओलीको अहंकारी दम्भ अझै नरोकिएको उत्घोष गरे।
‘ओलीले नेपाली जनताको परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरे,’ उनले भने,‘ त्यसलाई रोक्न र ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो, मुलुकको संविधान देश भन्दा माथि सोच्ने सर्वसत्तावादी अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढीरहेका छन्, त्यसको विरुद्धमा जनताले मतदान गर्नुपर्छ।’
साथै खड्काले भने, ‘संविधान निर्माणका क्रममा ओलीहरुले आफैँले गरेको हस्ताक्षर विपरीत संसद विघटन गरे। तर, पनि अहिले त्यो सहि नै हो भन्ने तर्कका साथ जनतामा मत मागिरहेका छन्।’
गठबन्धनको विषयमा बोल्दै खड्काले वर्तमान गठबन्धन ओलीले आफ्नो स्वार्थका लागि रातारात प्रचण्डसँग गरिएको सम्झौता जस्तो नभएको प्रतिक्रिया दिए।
‘अहिले ओलीले जे भनेर मत माग्दै जनताको बीचमा हिडिरहेका छन्, त्यो ओलीको दम्भ र अहंकारी प्रवृत्ति हो,’ खड्काले भने, ‘त्यसलाई सबै लागेर परास्त गर्नुपर्छ।’
साथै उनले ओलीले कोरोना खोप ल्याउने नाममा भ्रष्ट्राचार गरेको आरोप लगाए। उनले संविधान रक्षा र शान्ति सम्झौतालाई पूर्णता दिनका लागि गठबन्धनको पक्षमा मतदान गर्न जनतालाई आग्रह समेत गरे।
यस्तै, खड्काले गठबन्धनले निर्वाचन जिेतको खण्डमा सिंहदरबारको पैसा कर्णाली ल्याएर कर्णालीमा विकासको मुल फुटउने प्रतिबद्धता जाहेर गरे।
उनले भने, ‘गठबन्धनले जितेपछि कर्णालीमा विकास निर्माणलाई व्यापक रूपमा उठाएका छौँ। जसका लागि कर्णालीमा विकास गर्नका लागि ठुला औजार, मेसिनहरु ल्याउन पनि गठबन्धनको सरकारले अगाडी बढाएको छ। ऐन निर्माण गरेर प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा अगाडी बढाउँन् जीवनबहादुर शाहीको सरकारले कामको थालनी गरेको छ।’
साथै खड्काले कर्णाली प्रदेशको छुट्टै नक्सा जारी गर्नका लागि आफ्नो ठूलो भूमिका रहेको दाबी समेत गरे।
Shares

प्रतिक्रिया