ad ad

राजनीति


कर्णालीका ८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित, चार क्षेत्र ‘एल्लो जोन’ मा

३० प्रतिशत भोट ‘ट्रान्सफर’ नभए गठबन्धनले गुमाउन सक्छ चार क्षेत्र
कर्णालीका ८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित, चार क्षेत्र ‘एल्लो जोन’ मा

सागर न्यौपाने र दिनेश बुढा
कात्तिक २९, २०७९ मंगलबार २१:५९, काठमाडौं/सुर्खेत

लामो समयदेखि कर्णाली प्रदेश माओवादीको आधार इलाकाका रुपमा रहँदै आएको छ। यसपटकको निर्वाचनमा भने यहाँ माओवादी मात्र होइन, सत्तारुढ गठबन्धनको एक सदस्य नेकपा एकीकृत समाजवादी पनि बलियो देखिएको छ। 

गठबन्धनको फाइदा लिएर कांग्रेस पनि कर्णालीमा कमब्याक गर्न चाहन्छ। २०७४ मा एमाले–माओवादी गठबन्धनका कारण कांग्रेसले कर्णालीमा शर्मनाक हार बेहोरेको थियो। कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि जित्न नसकेको कांग्रेस यसपटक ४ वटा निर्वाचन क्षेत्र जित्ने दाउमा छ।

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभाका १२ क्षेत्रमध्ये दैलेख र सुर्खेतमा दुई/दुई, सल्यान, रूकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालीकोटमा एक/एक निर्वाचन क्षेत्र छन्।

स्थानीय तहको निर्वाचनको मत, दलहरुको संगठन र २०७४ को चुनावलाई आधार मान्दा १२ वटै क्षेत्रमा सत्तारुढ गठबन्धनले जित्ने देखिन्छ। तर, साझा उम्मेदवारले जित्न जुम्ला, दैलेख २, सुर्खेत २ मा कम्तीमा ३० प्रतिशत भोट ट्रान्सफर हुनुपर्ने देखिन्छ। 

गठबन्धनमा रहेको एकीकृत समाजवादीले सल्यान, दैलेख १ र डोल्पामा उम्मेदवारी दिएको छ। माओवादी केन्द्रले जाजरकोट, कालिकोट, रुकुम पश्चिम, हुम्ला र जुम्लामा आफ्नो उम्मेदवार उठाएको छ। नेपाली कांग्रेसले सुर्खेत १ र २, दैलेख २ र मुगुमा उम्मेदवार उठाएको छ। 

८ क्षेत्रमा गठबन्धनको जित सुनिश्चित
सल्यान, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, डोल्पा, सुर्खेत १ र मुगुमा गठबन्धन ‘ग्रिन जोन’ अर्थात् जित नजिक छ।  

गठबन्धनका उम्मेदवारहरूको अवस्था, स्थानीय चुनावको परिणाम, अघिल्लो चुनावमा दलहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा यी ८ क्षेत्रमा गठबन्धन अगाडि देखिएको हो।

कर्णाली प्रदेशको राजनीति नजिकबाट जान्ने एक विश्लेषकका अनुसार गठबन्धन १२ वटै क्षेत्रमा जित निकाल्ने अवस्थामा छ। 

‘२०७४ मा एमाले–माओवादी गठबन्धनले १२ मा सबै सिट जित्यो, यसपटक सत्ता गठबन्धनले १२ मा १२ वटै जित्यो भने पनि आश्चर्य मानिने छैन’, उनले भने।

तर, केही क्षेत्रमा गठबन्धनको जित सन्देहमा छ। एमालेले जाजरकोट, हुम्ला र दैलेख २ आफूले जित्ने सूचीमा राखेको छ। यद्यपी एमाले कार्णालीका नेताहरू भने तीन सिट जितिनेमा त्यत्ति आशावादी देखिँदैनन्। 

कार्णालीका यी चार क्षेत्र गठबन्धन र एमाले दुवैका लागि ‘रेड जोन’ मा छन्। गठबन्धनका उम्मेदवारका लागि पनि जुम्ला, दैलेख १ र २ तथा सुर्खेत २ मा चुनाव जित्न अर्को दलको मत ट्रान्सफरमा भर लाग्नुपर्ने अवस्था छ। 

१२ निर्वाचन क्षेत्रको अवस्था
सल्यान
यो क्षेत्रमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्चार्ज प्रकाश ज्वाला उम्मेदवार छन्। ज्वालासँग एमालेबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्। ज्वालालाई कांग्रेस र माओवादीको बलियो साथ छ।

स्थानीय तहमा कांग्रेसले ३३ हजार ६ सय १६, नेकपा मओवादी केन्द्रले २६ हजार ७ सय १३ र एकीकृत समाजवादीको नौ हजार ४०८ मत पाएको थियो। एमालेले २६ हजार ६ सय २८ मत ल्याएको थियो। यो क्षेत्रमा ज्वाला निकै बलिया उम्मेदवार हुन्।

रुकुम पश्चिम
यो क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा छन्। रुकुम पश्चिम माओवादी केन्द्रको पकेट क्षेत्र हो। रुकुम पश्चिममा शर्मासँग एमालेका नन्दलाल देवकोटा प्रतिस्पर्धामा उत्रिएका छन्।

शिक्षकबाट राजनीतिमा आएका देवकोटा एमाले रुकुम जिल्ला अध्यक्ष हुन्।  तर, यो क्षेत्रमा माओवादीका शर्मा निकै बलिया उम्मेदवार हुन्। उनले ६० प्रतिशत मत ल्याउने आकलन छ। 

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा रुकुम पश्चिममा माओवादी केन्द्रले ३७ हजार १०२ मत पाएको छ। कांग्रेसले २६ हजार ६२०, नेकपा एकीकृत समाजवादीले १३० र नेकपा एमालेले ६ हजार १२४ मत ल्याएको छ। 

जाजरकोट 
यो क्षेत्रमा माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत र एमालेका युवा नेता निरजप्रसाद आचार्य आमनेसामने छन्। जाजरकोट माओवादीको गढ मानिन्छ।

यी दुवै उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले चुनौती दिईरहेका छन्। त्यही भएर एमालेले आफूले यो क्षेत्रबाट चुनाव जित्ने दाबी गरेको छ। स्वतन्त्र उम्मेदवार कार्कीले गठबन्धनको भोट काट्ने र आफूले जित्ने एमालेको दाबी छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन बलियो देखिन्छ। वडाध्यक्षतर्फ कांग्रेसले २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र समाजवादीले २ हजार ३३४ मत पाएको छ। एमालेले २४ हजार ४ मत पाएको छ।

२०७४ मा पनि बस्नेतले चुनाव जितेका थिए। त्यसबेला एमाले–माओवादी गठबन्धन थियो। अहिले कांग्रेस–माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ। 

कालिकोट
कालिकोट पनि माओवादीको गढ कै रुपमा लिइन्छ। यस क्षेत्रबाट माओवादी केन्द्रका नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रहादुर शाही, एमालेबाट केन्द्रीय सदस्य तथा कालीकोट इन्चार्ज नगेन्द्र शाही उम्मेदवार छन्। महेन्द्रहादुर शाहीको उम्मेदवारीप्रति असन्तुष्ट रहेर माओवादीकै काशीराम बरालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

गठबन्धनमा एकीकृत समाजवादीलाई समेटिएको छैन। बागी उम्मेदवार बरालले माओवादी र कांग्रेसको मत काट्ने विश्लेषण यहाँका दलहरुले गरेका छन्। त्यही कारण फाइदा हुने एमालेको विश्लेषण छ।

स्थानीय तह चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा माओवादी बलियो छ। १८ हजार ३४७ मत माओवादीले पाउँदा कांग्रेसले १२ हजार ८२०, एकीकृत समाजवादीले ३ हजार ५०३ र नेकपा एमालेले १२ हजार ६१३ मत पाएको छ। कांग्रेसको भोट ट्रान्सफर भए महेन्द्रहादुर शाहीले सजिलै जित्नेछन्।

सुर्खेत–१
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमालेका ध्रुवकुमार शाहीबीच सुर्खेत १ मा दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ।  

२०७४ मा झण्डै ३ हजार मतान्तरले शाहीसँग पराजित खड्का गठबन्धनको आडमा यसपटक चुनाव जित्ने बलिया उम्मेदवार हुन्।

सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका–१५ र वीरेन्द्रनगर–१६ को भूगोल समेटिएको सो क्षेत्रमा स्थानीय तहको वडाको मत हेर्दा कांग्रेसको ३६ हजार ७८१ मत छ।

माओवादीको पाँच हजार ७५ मत र नेकपा एकीकृत समाजवादीले ४१८ मत प्राप्त गरेको छ। एमालेले ३४ हजार ८४३ मत पाएको छ। यो तथ्यांक र पछिल्ला दिन गठबन्धनको पक्षमा देखिएको माहोलले खड्काले जित्ने अवस्था बनेको छ।

सुर्खेत–२ 
वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा, पञ्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिका समेटिएको सुर्खेत २ मा कांग्रेसका पुराना नेता हृदयराम थानी र एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत बिसीबीच तीव्र प्रतिस्पर्धा छ।

थानीले यसअघि नै पटक पटक चुनाव जिते पनि जनताका पक्षमा काम नगरेको गुनासो मतदाताको छ। बिसी पहिलो पटक चुनावमा उठेका हुन्। यही भएर सो क्षेत्रमा थानीप्रति भन्दा बिसीतिर मतदाताले आकर्षण देखाए पनि गठबन्धनको फाइदा थानीले लिने देखिन्छ।

स्थानीय तहमा वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन अगाडि छ। नेपाली कांग्रेसले २९ हजार ६८७ मत, माओवादी केन्द्रले ११ हजार ६६१ र समाजवादीले १ हजार ६४४ मत ल्याएका छन्। एमालेले ३० हजार ४६९ मत ल्याएको थियो।

दैलेख–१
यो क्षेत्रमा ३० वर्षपछि पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुँदैछ। एकीकृत समाजवादीबाट कर्णाली प्रदेश अध्यक्ष समेत रहेका अम्मरबहादुर थापा उठेका छन्। उनलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा र राप्रपाकी महामन्त्री कुन्ती शाहीले चुनौती दिएका छन्। 

गठबन्धनको बलमा थापा चुनाव जित्ने अवस्थामा छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा पनि उनी निकै अगाडि देखिन्छन्। कांग्रेसको १७ हजार ५३९, माओवादी केन्द्रको २ हजार ८२५ र एकीकृत समाजवादीको ३ हजार ४५० मत छ।

एमालेले १७ हजार ६६५ मत पाएको थियो। यी तीनदलबीच मत ट्रान्सफर भएको अवस्थामा थापाले चुनाव सजिलै जित्ने देखिन्छ। 

दैलेख–२ 
एमालेको गढका रूपमा लिइने दैलेख २ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ। दुल्लु, चामुण्डा, आठबीस नगरपालिका तथा ठाँटीकाँध र भैरवी गाउँपालिका पर्ने सो क्षेत्रबाट कांग्रेसका दिक्पाल शाही र एमालेका जिल्ला इञ्चार्ज समेत रहेका लक्ष्मीप्रसाद पोखरेल छन्।

एमालेले जित्ने निश्चित क्षेत्रका रुपमा यसलाई लिएको छ।

तर, स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा गठबन्धन बलियो अवस्थामा छ। कांग्रेसले १८ हजार ६१२ मत पाएको थियो। माओवादीले ५ हजार ७५५ र समाजवादीले ८३३ मत पाएको थियो। गठबन्धनको मत जोड्दा २५ हजार २०० हुन्छ।

एमालेको २१ हजार १६१ मत छ। यदि गठबन्धनको मत राम्रोसँग ट्रान्सफर भयो र कांग्रेसको मत एकजुट भएको अवस्थामा शाही जित्नसक्छन्। तर, विगतको चुनाव हेर्दा गठबन्धनको मत शतप्रतिशत खसेको देखिँदैन। त्यसकारण दैलेख २ एमाले र गठबन्धन दुवैका लागि ‘एल्लो जाने’ मा छ। 

जुम्ला 
जुम्लाको निर्वाचन रोचक हुने देखिन्छ। जुम्लामा गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुँवर उम्मेदवार छिन्। उनी गठबन्धनको तर्फबाट टिकट पाउने कर्णालीकी एक मात्रै महिला उम्मेदवार हुन्।

नेकपा एमालेबाट केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगी उम्मेदवार छन्। यस्तै यूट्याुवमा भाइरल बनेका ज्ञानेन्द्रबहादुर शाहीले पनि राप्रपाबाट उम्मेदवारी दिएका छन्। यी तीनै जनाको तीव्र प्रतिस्पर्धा देखिएपनि गठबन्धनमा भएको फाइदा कुँवरलाई छ। 

विसं २०६४ र २०७४ मा सो क्षेत्र माओवादीले जितेको थियो। त्यसबेला एमाले–माओवादी गठबन्धन र कांग्रेस–राप्रपाको तालमेल थियो। 

गत स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिका प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो। 

माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडा अध्यक्ष जितेको छ। एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ। कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्ष नजितेको एमालेले ६० वडामध्ये छ वडाध्यक्ष मात्रै जितेको थियो। राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन। एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। 

वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार छ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ। 

हुम्ला 
हुम्लामा पूर्वमन्त्री समेत रहेका एमालेका दल रावल र माओवादीका छिरिङ डम्डोल लामाबीच प्रतिस्पर्धा हुँदैछ। लामो समय माओवादी राजनीतिमा लागेका छिरिङ डम्डोल लामा कर्णाली प्रदेश सरकारको ६ महिने गैरसांसद मन्त्रीसमेत बनेका छन्। 

एमालेले यो क्षेत्र जित्ने दाबी गरेको छ। तर, गठबन्धनको बल, माओवादीको आफ्नै संगठनले डम्डोल बलिया अवस्थामा छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ४९३ मत पाएको छ। यस्तै कांग्रेसले ४ हजार ७६४ र समाजवादीले ८८८ मत पाएको छ। एमालेको ६ हजार १४७  मत पाएको छ।

स्थानीय चुनावमा गठबन्धनका तीन दलले पाएको मत र अहिलेको चुनावी माहोल विश्लेषण गर्दा डम्डोलले चुनाव जित्ने अवस्था बनेको छ।

डोल्पा  
यो क्षेत्रमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा छ। 

ठुलीभेरी नगरपालिकाका निवर्तमान नगर प्रमुखसमेत रहेका एमालेका गणेशबहादुर शाही र गठबन्धनको तर्फबाट समाजवादीका केन्द्रीय सदस्य तथा डोल्पा इन्चार्ज धनबहादुर बुढा उम्मेदवार छन्। बुढा निवर्तमान सांसद पनि हुन्।

संघीय सरकारको पर्यटन मन्त्री बनिसकेका बुढाको प्रभाव यो क्षेत्रमा निकै राम्रो रहेको नेताहरु बताउँछन्। 

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतको अधारमा डोल्पामा माओवादी केन्द्रसँग ४ हजार ८५५, नेपाली कांग्रेससँग ३ हजार ६९ र समाजवादीसँग १ हजार ३३४ मत रहेको छ। एमालेसँग ४ हजार ५४५ मत देखिन्छ। 

मुगु 
यो जिल्लामा कांग्रेसका जिल्ला सभापति र एमालेका कर्णाली प्रदेश कमिटी सदस्यबीच प्रतिस्पर्धा हुँदैछ। २०७४ मा एमालेका मोहन बानियाँसँग पराजित कांग्रेसका ऐनबहादुर शाही यसपटक एमालेका राजबहादुर कार्कीसँग भिड्दैछन्।

एमालेबाट कृष्णबहादुर सेजुवाल र भीमचन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यो कारण एमाले कमजोर अवस्थामा छ। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामअनुसार एमालेको नौ हजार ८५१, एकीकृत समाजवादीको पाँच हजार ६०१, कांग्रेसको ६ हजार १८१ र माओवादी केन्द्रको चार हजार ७७० मत छ।

यसरी हेर्दा गठबन्धन अगाडि देखिन्छ। तर, मत ट्रान्सफर कति हुन्छ भन्ने कुराले जितहार निश्चित हुनेछ।

नेपालखबर चुनाव ब्रिफिङ :

सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .