ad ad

राजनीति


गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

गण्डकीका ८ क्षेत्रमा गठबन्धनको जित पक्का, बाँकी १० क्षेत्रमा पनि एमाले ‘रेड जोन’ मा

सीताराम बराल
कात्तिक २९, २०७९ मंगलबार १९:१३, काठमाडौँ

आमनिर्वाचन–२०७४ मा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधि सभामा १–१ सिट मात्र जित्यो। त्यसरी जित्ने सांसदहरु थिए– सुदुरपश्चिममा कांग्रेस सभापति शेरबहादुर देउवा (डडेलधुरा) र गण्डकीमा तत्कालीन महामन्त्री डा. शशांक कोइराला (बर्दघाटपूर्वको नवलपरासी–१)।  

कांग्रेस महामन्त्री डा. कोइरालालाई मात्र जिताएर पठाएको गण्डकी प्रदेशमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल (तनहुँ–१) उपसभापति गोपालमान श्रेष्ठ (स्याङ्जा–२) जस्ता नेताहरु समेत पराजित हुनु परेको थियो। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (गोरखा–२) पनि पराजित भए।

माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ, कांग्रेस वरिष्ठ नेता पौडेल र उपसभापति श्रेष्ठजस्ता हस्ती पराजित भएकाले उतिबेला चर्चामा रहेको गण्डकी (प्रदेश–४) यसपटक पनि चर्चामा छ। किनभने यसपटक यो प्रदेशमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ, कांग्रेस वरिष्ठ नेता पौडेल, उपसभापति धनराज गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिस्पर्धा गरिरहेका छन्।

शीर्ष नेताहरुको प्रतिस्पर्धास्थल भएकाले आगामी निर्वाचनमा प्रतिनिधि सभातर्फ गण्डकी प्रदेशले कस्तो परिणाम देला भन्ने चासो अत्यधिक छ। २०७४ मा यो प्रदेशका १८ मध्ये १६ सिटमा वाम गठबन्धनले विजय हासिल गरेको थियो। बाँकी दुईमा नेपाली कांग्रेस र नयाँशक्ति पार्टीले एकएक सिट जितेका थिए।

यसपटक १८ सिटमध्ये पाँच दलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले बाग्लुङ–१, एकीकृत समाजवादीले कास्की–२, माओवादी केन्द्रले गोरखा– २, लमजुङ, कास्की–३ र बाग्लुङ–२ पाएको छ भने बाँकी १२ सिटमा नेपाली कांग्रेसका उम्मेदवार छन्। एमालेले प्रदेशका १८ वटै सिटमा आफ्ना उम्मेदवारहरुलाई प्रतिस्पर्धाका लागि मैदानमा उतारेको छ। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। तर, स्याङ्जा–२, कास्कीमा बाहेक अन्यत्र रास्वपाको उपस्थितिले निर्वाचन परिणाममा खासै असर गर्ने देखिँदैन। 

त्यसैले, यसपटक पनि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको वाम–लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।  

तीन निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं १ मा गठबन्धनबाट नेपाली कांग्रेसबाट किशोरदत्त बराल र एमालेबाट मनबहादुर गुरुङ प्रतिस्पर्धामा छन्। २०७४ को निर्वाचनमा यो निर्वाचन क्षेत्रमा एमालेका खगराज अधिकारी झण्डै १४ हजार मतअन्तरले विजयी भएका थिए। 

तर, स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन यहाँ अगाडि देखिन्छ। यहाँ कांग्रेसका उम्मेदवारहरुले ३३ हजार ८ सय ३७, माओवादी केन्द्रका उम्मेदवारहरुले ३ हजार २ सय ७८ मत प्राप्त गर्दा एमाले उम्मेदवारहरुले ३० हजार १ सय ९६ मत प्राप्त गरेका थिए।  

कास्की–२ मा पनि २०७४ को निर्वाचनमा एमाले विजयी भएको थियो। एमालेका स्व. रवीन्द्र अधिकारी ९ हजार मतअन्तरले विजयी भएका थिए। अधिकारीको निधनपछिको उपनिर्वाचनमा एमालेकै विद्या भट्टराई अधिकारीले उस्तै मतअन्तरका साथ विजय हासिल गरेकी थिइन्। 

यसपटकको निर्वाचनमा एमालेबाट भट्टराई नै उम्मेदवार छिन्, गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल प्रतिस्पर्धामा छन्। 

स्थानीय तह निर्वाचनका आधारमा यो क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। यहाँ एमाले उम्मेदवारहरुले २१ हजार १ सय ६४ मत प्राप्त गरेका छन्, कांग्रेस उम्मेदवारले १९ हजार ८, एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १ सय ९८ मत पाएका छन्।

२०७४ मा वाम गठबन्धनको तर्फबाट एमालेकै जगत विश्वकर्माले ६ हजार भन्दा बढी मतअन्तरले विजय हासिल गरेको कास्की–३ मा यसपटक एमालेका दामोदर पौडेल ‘बैरागी’ र माओवादी केन्द्रका रामजीप्रसाद बरालबीच प्रतिस्पर्धा हुनेछ। स्थानीय तहको निर्वाचन परिणाम अनुसार यहाँ एमालेको २९ हजार ८ सय ५, कांग्रेसको २८ हजार ८ सय ४६, माओवादी केन्द्रको २ हजार ४ सय र एकीकृत समाजवादीको ५ सय १ मत रहेको देखिन्छ। 

यो प्रदेशका ४ जिल्लाहरु बर्दघाट पूर्वको नवलपरासी, स्याङ्जा, गोरखा र बाग्लुङ गरी ४ जिल्लामा २–२ वटा निर्वाचन क्षेत्र छन्। 

यसमध्ये गोरखा र बाग्लुङमा स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामका आधारमा गठबन्धनको मतअन्तर निकै फराकिलो देखिन्छ।

यसमध्ये गोरखा–१ मा नेपाली कांग्रेसबाट राजेन्द्र बजगाईं र एमालेबाट रामशरण बस्नेत प्रतिस्पर्धामा छन्। २०७४ को निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हरि अधिकारीले ३ हजार मतअन्तरले नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठलाई पराजित गरेको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा कांग्रेसले २७ हजार ८४, माओवादी केन्द्रले २५ हजार ४ सय ७२, डा. बाबुराम भट्टराईआवद्ध जनता समाजवादी पार्टीले २ हजार ७ सय ५४ मत प्राप्त गरेको थियो। यहाँ एमाले उम्मेदवारहरुले १४ हजार ५ सय ६६ मत प्राप्त गरेका थिए। 

स्थानीय तह निर्वाचनमा गोरखा–२ मा माओवादी केन्द्रले २२ हजार २ सय ५०, नेपाली कांग्रेसले २१ हजार १ सय ३६, जसपाले ७ हजार ५ सय ४ मत प्राप्त गरेको थियो। २०७४ को निर्वाचनमा भने वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई नेपाली कांग्रेसको समर्थनमा नयाँशक्तिका डा. बाबुराम भट्टराईले ७ हजार मतअन्तरले पराजित गरेका थिए। डा. भट्टराई अहिले लोकतान्त्रिक वाम गठबन्धनमै आवद्ध छन्। 

यो त्यही निर्वाचन क्षेत्र हो, जहाँ यसपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिस्पर्धा गर्दैछन् र स्थानीय तह निर्वाचन परिणामका आधारमा गठबन्धनको कुल मत ५० हजार ८ सय ९० र अब्दुस सलाम मियाँलाई उम्मेदवार बनाएको एमालेको मत ७ हजार ९ सय २६ देखिन्छ।  

अघिल्लो निर्वाचनमा बाग्लुङ–१ मा वाम गठबन्धनको तर्फबाट एमालेका सूर्य पाठकले कांग्रेसकी चम्पादेवी खड्कालाई १३ हजार मतअन्तरले पराजित गरेका थिए। वाम गठबन्धनमा  आवद्ध राष्ट्रिय जनमोर्चाको पनि एमालेका पाठकले प्राप्त गरेको मतमा योगदान थियो।  

यो निर्वाचन क्षेत्रमा यसपटक गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार छन्, एमालेले गत निर्वाचनका विजेता पाठकलाई नै उम्मेदवार बनाएको छ। 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको मत भन्दा गठबन्धनको मत साढे ८ हजार बढी देखिन्छ। एमालेले २१ हजार ९ सय ७८ मत प्राप्त गरेको यो क्षेत्रमा कांग्रेसले १९ हजार ५ सय १३, राष्ट्रिय जनमोर्चाले ६ हजार ६७ र माओवादी केन्द्रले २ हजार ५ सय २९ र एकीकृत समाजवादीले २ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्। व्यक्तित्वका हिसाबले पनि केसी यो क्षेत्रमा सहजै विजयी हुने देखिन्छ।

स्थानीय तह निर्वाचनमा प्राप्त मत र व्यक्तित्वका आधारमा बाग्लुङ–२ मा पनि गठबन्धनले सहजै विजय हासिल गर्ने देखिन्छ। गठबन्धनको तर्फबाट यहाँ शिक्षामन्त्रीसमेत रहेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल प्रतिस्पर्धा गर्दैछन्। 

यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले पहिलो दलका रुपमा थियो। तर, गठबन्धनमा सामेल कांग्रेस, माओवादी र राजमोको कुल मत भने एमालेले पाएभन्दा लगभग १५ हजार बढी छ। यहाँ एमालेले १९ हजार ३० मत प्राप्त गर्दा कांग्रेसले १७ हजार ७ सय ५१, माओवादी केन्द्रले ९ हजार ७ सय ५१ र राजमोले ६ हजार ६ सय ७८ र एकीकृत समाजवादीले ३ सय ८८ मत प्राप्त गरेका थिए।   

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जा–१ मा २०७४ मा १० हजार मतअन्तरले वाम गठबन्धनको तर्फबाट निर्वाचित एमाले उम्मेदवार नारायणप्रसाद मरासिनी र उनीसँग पराजित नेपाली कांग्रेसका राजु थापाबीच नै यसपटक पनि प्रतिस्पर्धा हुँदैछ। स्थानीय तह निर्वाचन परिणामअनुसार यो क्षेत्रमा एमालेका मरासिनी र कांग्रेसका थापाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। यो निर्वाचन क्षेत्रमा गठबन्धनको पक्षमा ३९ हजार र एमालेको पक्षमा ३६ हजार ८ सय ४५ मत खसको थियो।

यस्तै प्रतिस्पर्धाको स्थिति गत निर्वाचनमा झण्डै ४ हजार मतअन्तरले एमालेकी पद्मा अर्याल निर्वाचित भएको स्याङ्जा–२ मा पनि छ। कांग्रेस उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गर्दै एमाले नेतृ अर्याल सो निर्वाचनमा विजयी भएकी थिइन्। उदीयमान नेतृ अर्याल अहिले एमाले सचिव छिन्। 

तर, अर्यालका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार पनि चानचुने छैनन्। यहाँ कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन्। र, स्थानीय तह निर्वाचनका आधारमा यहाँ गठबन्धन नै अगाडि देखिन्छ, जहाँ गठबन्धनको पोल्टामा ३९ हजार ४ सय ९४ र एमालेको पोल्टामा ३४ हजार ८ सय ९ मत   छ।  

तर, यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पनि प्रभाव छ। शिक्षण पेसाबाट अवकाश प्राप्त गरेका रास्वपाका गुरुङले प्राप्त गर्ने मतले यहाँ कांग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालको भाग्य निर्धारण गर्नेछ।  

दुईवटै निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट पूर्व) मा पनि उस्तै प्रतिस्पर्धाको स्थिति छ। नवलपरासी–१ मा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला चौथो पटक प्रतिस्पर्धा गर्दैछन्, उनीसँग एमालेका कृष्ण पौडेल प्रतिस्पर्धा गर्दैछन्।

वाम गठबन्धनका बाबजुद माओवादी केन्द्रका भविश्वर पराजुलीलाई २०७४ को निर्वाचनमा डा. कोइरालालले ४ हजार मतअन्तरले पराजित गरेका थिए। स्थानीय तह निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने यसपटक यहाँ गठबन्धन र एमालेबीच त्यति फराकिलो अन्तर हुने देखिन्न। 

यहाँ कांग्रेसका उम्मेदवारहरुले ४० हजार ५ सय ११ र माओवादी केन्द्रका उम्मेदवारहरुले १ हजार ९ सय २१ मत प्राप्त गरेका थिए। एमाले उम्मेदवारहरुलाई ३९ हजार ९ सय ५१ मत प्राप्त भएको थियो। गठबन्धनका बाबजुद मतअन्तर कम भएकाले कांग्रेस उम्मेदवार डा. कोइरालाले विजयका लागि व्यक्तित्वकै सहारा लिनुपर्ने देखिन्छ।

डा. शशांक कोइराला र कृष्ण पौडेल  

वाम गठबन्धनको तर्फबाट २०७४ एमालेका तिलकबहादुर महतले विजय हासिल गरेको नवलपरासी बर्दघाट पूर्वको नवलपरासी–२ मा यसपटक पनि एमालेबाट महत र गठबन्धनको तर्फबाट कांग्रेसका विष्णुकुमार कार्की प्रतिस्पर्धा गर्दैछन्। एमालेका महतसँग करिब १ हजार ५ सय मतअन्तरले पराजित कार्कीलाई स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई प्राप्त मतले पनि राहत प्रदान गर्दैन। 

किनभने स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसले ३८ हजार ६ हजार १९, माओवादीले १ हजार ७ सय ४२ र एकीकृत समाजवादीले २ सय १४ मत मात्र प्राप्त गरेको थियो।  

गण्डकी प्रदेशको चर्चितमध्येको अर्काे सिट तनहुँ–१ हो, जहाँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रत्यासी छन्। २०७४ को निर्वाचनमा पौडेलको आश्चर्यजनक पराजयका कारण यसपटक पनि यो निर्वाचन क्षेत्रप्रति धेरैको चासो छ। पौडेललाई यहाँ एमालेका एकबहादुर रानाले चुनौती दिएका छन्। 

२०७४ मा पौडेलको पराजयका दुई कारण थिए। एक, वाम गठबन्धन। दुई, आफूविरुद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेजीमा पौडेलको भूमिका। पौडेलकै उजुरीमा उम्मेदवारी खारेज भएपछि जोशी समूहले वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई जिताउन भूमिका खेलेको थियो।  

उतिबेला उम्मेदवारी खारेज भएका जोशी यसपटक पनि तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार छन्। तर, अघिल्लो पटक जोशीको उम्मेदवारी खारेज गराउँदा ‘बुमर्याङ्ग’ भएको बुझेका पौडेलले यसपटक उनलाई बिच्क्याएका छैनन्। त्यसैले, जोशी समर्थकको मत जोशीले नै प्राप्त गर्नेछन्, ०७४ मा जस्तो वाम गठबन्धनका उम्मेदवारले होइन।

स्थानीय तह निर्वाचनको परिणामले पनि पौडेललाई साथ दिन्छ। किनभने, यो क्षेत्रमा कांग्रेस एक्लैको मत ३३ हजार १ सय ६ छ भने माओवादी केन्द्रको ८ हजार ४ सय ७४ र एकीकृत समाजवादीको ८ सय ९२ छ। एमालेले यहाँ प्राप्त गरेको मत भने २२ हजार २ सय ९० छ। यस आधारमा यदि गठबन्धनले आफ्नो मत सुरक्षित गर्न सक्यो भने पौडेल झण्डै दोब्बर मतअन्तरले विजयी हुनसक्ने स्थितिमा छन्।  

तनहुँ–१ मा २०७४ मा पराजित कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ। एमालेले गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङलाई अगाडि सारेको छ। सत्ता गठबन्धनको मत धेरै भए पनि एमालेका गुरुङ व्यक्तिगत प्रभावका दृष्टिले कमजोर छैनन्। २०७४ मा पराजित भएकाले कांग्रेसका भण्डारीले यसपटक सहानुभूतिको मत प्राप्त गर्न सक्छन्।

स्थानीय तह निर्वाचनमा कांग्रेस–एमालेबीच तीव्र प्रतिस्पर्धा भएको यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्राप्त गरेको मतका आधारमा गठबन्धन अगाडि देखिन्छ। यो क्षेत्रमा कांग्रेस उम्मेदवारहरुले ३० हजार ९ सय ६२ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवारहरुलाई ६ हजार ८ सय ३६, एकीकृत समाजवादीका उम्मेदवारहरुलाई  २ हजार २ सय ५२ मत प्राप्त भएको थियो। एमाले उम्मेदवारहरुले ३० हजार ६ सय ६ मत प्राप्त गरेका थिए। 

गण्डकी प्रदेशका लमजुङ, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ गरी पाँच जिल्लामा प्रतिनिधि सभाका लागि १–१ सिट मात्र छन्। र, यी पाँचवटै जिल्लामा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ। 

यसमध्ये लमजुङमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महासचिव देव गुरुङसँग एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिस्पर्धा गर्दैछन्। २०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ८ हजार बढी मतअन्तरले पराजित गरेका महासचिव गुरुङलाई यसपटक कांग्रेसले बलियो साथ दिएको छ।  

माओवादी केन्द्रका महासचिव र एमाले उपमहासचिवबीच निकै कडा प्रतिस्पर्धाको स्थिति रहेको स्थानीय तह निर्वाचन परिणामले पनि देखाउँछ।

देव गुरुङ र पृथ्वीसुब्बा गुरुङ 

स्थानीय तह निर्वाचनमा यो जिल्लामा  एमालेले ४० हजार १ सय ९७ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले ३५ हजार २ सय ७६ र माओवादी केन्द्रका उम्मेदवारहरुले ६ हजार १ सय २७ मत पाएका थिए।  

यस्तै तीव्र प्रतिस्पर्धा पर्वतमा पनि हुने देखिन्छ, जहाँ एमालेबाट निवर्तमान सांसद पदम गिरी र गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी उम्मेदवार छन्। २०७४ को निर्वाचनमा वाम गठबन्धनका गिरीसँग १३ हजार मतअन्तरले पराजित जोशी स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा यसपटक पनि ऋणात्मक स्थितिमा छन्। 

किनभने, यो निर्वाचन क्षेत्रमा कांग्रेसले २९ हजार ३ सय ४४, माओवादी केन्द्रले ५ हजार ३ सय ६१ र एकीकृत समाजवादीले ५ सय ४६ मत प्राप्त गरेका छन् भने एमाले एक्लैले ३५ हजार ७ सय १६ मत प्राप्त गरेको छ। तर, यहाँपनि मतअन्तर निकै कम छ, त्यसैले आगामी निर्वाचन पनि निकै प्रतिस्पर्धात्मक छ।   

२०७४ मा वाम गठबन्धनका कारण विजय हासिल गरेको एमालेले यसपटक म्याग्दीमा निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाको साटो हरिकृष्ण श्रेष्ठलाई अघि सारेको छ। गठबन्धनको तर्फबाट कांग्रेसले २०७४ मा थापासँग ३ हजार मतअन्तरले पराजित खमबहादुर गर्बुजालाई उम्मेदवार बनाएको छ। राप्रपाले यहाँ पञ्चायतकालीन चर्चित पात्र जगत गौचनलाई उम्मेदवार बनाएको छ। तत्कालीन अधिराजकुमार धीरेन्द्रसँग निकट गौचन पनि जिल्लामा प्रभावशाली मानिन्छन्। स्थानीय तह निर्वाचनमा राप्रपा उम्मेदवारहरुले २ सय १७ मत मात्र प्राप्त गरे पनि गौचनले गठबन्धन र एमाले दुवैतर्फको मत प्राप्त गर्न सक्छन्। 

स्थानीय तह निर्वाचनका आधारमा भने यहाँ गठबन्धन निकै बलियो देखिन्छ। यहाँ कांग्रेस उम्मेदवारले २० हजार ३८ र माओवादी केन्द्रका उम्मेदवारहरुले ८ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए। एमाले उम्मेदवारहरुले २३ हजार २ सय १० मत पाएका थिए। यो उल्लेख्य मतअन्तरलाई संरक्षण गर्न सकेको खण्डमा गठबन्धनले यहाँ सहज जित निकाल्न सक्ने स्थिति छ।

गण्डकी प्रदेशका दुई हिमाली जिल्लाहरु मुस्ताङ र मनाङमा २०७४ को निर्वाचनमा विजय हासिल गरेको एमालेले स्थानीय तह निर्वाचनको मतमा पनि अग्रता पाएको  थियो। दुवै जिल्लामा एमालेले २०७४ कै विजेताहरुलाई यसपटक पनि अघि सारेको छ। 

यहाँ एमालेबाट २०७४ मा कांग्रेसका रोमी गौचन थकालीलाई पराजित गरेका प्रेमप्रसाद तुलाचन नै उम्मेदवार छन् भने कांग्रेसले योगेश गौचन थकालीलाई उम्मेदवार बनाएको छ। हिमाली जिल्ला र जिल्लामा कम मतदाता बस्ने भएका कारण काठमाडौँ–पोखराबाट जसले बढी मतदाता ओसार्न सक्छन्, त्यसैले विजय हासिल गर्छ।  तर, स्थानीय तह निर्वाचन परिणामका आधारमा भने यहाँ एमाले बलियो स्थितिमा देखिन्छ।

दीपक मनाङेको समर्थन जसले पाउँछ, मनाङको परिणाम त्यही उम्मेदवारको पक्षमा आउनेछ  

अर्काे हिमाली जिल्ला मनाङमा भने गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे निर्णायक देखिन्छन्। स्वतन्त्र उम्मेदवारका रुपमा गण्डकी प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका मनाङेकै कारण २०७४ मा एमाले उम्मेदवार पाल्तेन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ४८ मतअन्तरले पराजित गरेका थिए। 

यो जिल्लामा यसपटक पनि २०७४ का यिनै दुईबीच प्रतिस्पर्धा हुँदैछ। स्थानीय तह निर्वाचनको परिणामले पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ। किनभने १ हजार २ सय ५८ मत पाएको एमाले र १ हजार २ सय २० मत पाएको कांग्रेसबीचको मतअन्तर ३८ मत मात्र छ। यो स्थितिमा मनाङे तटस्थ रहे भने कसले बाजी मार्छ भन्न सकिन्न। उनी खुले भने उनले समर्थन गरेकै उम्मेदवारले सहज विजय हासिल गर्नेछन्।

गण्डकीमा एमालेको हैसियत गुम्दै
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौँ र चितवनमा जस्तो प्रभाव देखिन्छ, गण्डकी प्रदेशको स्याङ्जा–२ बाहेक अन्य निर्वाचन क्षेत्रमा उसको त्यस्तो प्रभाव देखिन्न। राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको एजेन्डा बोकेको राप्रपा पनि यो प्रदेशको निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने स्थितिमा छैन।   

त्यसैले, आसन्न निर्वाचनमा गण्डकी प्रदेशका मुख्य प्रतिस्पर्धीहरु वाम–लोकतान्त्रिक गठबन्धन आवद्ध दलहरु– कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एमाले हुनेछन्। यसमध्ये गण्डकी प्रदेशमा कसले बाजी मार्ला भन्ने प्रश्नको उत्तर खोज्न स्थानीय तह निर्वाचनकै मत परिणामलाई आधार बनाउनु पर्ने हुन्छ। 

स्थानीय तह निर्वाचनका आधारमा भन्ने हो भने ४ निर्वाचन क्षेत्र– नवलपरासी (बर्दघाट पूर्व)–२, पर्वत, मुस्ताङ र मनाङमा एमालेको झिनो अग्रता देखिन्छ। उसले यी चार निर्वाचन क्षेत्रमा न्यूनतम ३८ (मनाङ) देखि अधिकतम १ हजार २ सय २३ (नवलपरासी बर्दघाट पूर्व–२) मतसम्मको मात्र अग्रता हासिल गरेको छ। 

गठबन्धनको अग्रता भने यो प्रदेशका १४ निर्वाचन क्षेत्रमा देखिन्छ। यो गठबन्धनले न्यूनतम १ हजार २ सय ६ (लमजुङ) देखि अधिकतम ४२ हजार ६ सय ६४ (गोरखा–२) सम्मको अग्रता यो प्रदेशका जिल्लाहरुमा कायम गरेको छ। 

तर, स्थानीय तह निर्वाचनमा मतदाताले जुन पार्टीलाई मत दिएका थिए, सबै मतदाताले आम निर्वाचनमा समेत त्यही पार्टीलाई मत दिन्छन् भन्ने हुँदैन। केही मतदाताले फरक पार्टीका उम्मेदवारलाई मत दिन सक्छन्।

त्यसैले, गण्डकी प्रदेशलाई हामीले ‘ग्रिन’ ‘एल्लो’ र ‘रेड’ गरी तीन वटा ‘जोन’ मा विभाजित गरी आगामी निर्वाचनको परिणामको आकलन गरेका छौँ। 

‘ग्रिन जोन’ मा ५ हजारभन्दा बढी मतअन्तर रहेका निर्वाचन क्षेत्र छन्। 

‘एल्लो जोन’ अन्तर्गत २ हजार ५ सयदेखि ५ हजारसम्म मतअन्तर भएका क्षेत्रलाई राखिएको छ। ‘रेड जोन’ अन्तर्गत त्यो भन्दा कम मतअन्तर रहेका निर्वाचन क्षेत्रलाई पारेका छौँ। 

यस हिसाबले गठबन्धन गण्डकी प्रदेशका १८ मध्ये ८ निर्वाचन क्षेत्रमा ‘ग्रिन जोन’ मा छ। अर्थात्, ८ निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले सहज रुपमा विजय हासिल गर्न सक्नेछन्।  

गठबन्धनका लागि जित एकदम पक्का रहेका ‘ग्रिन जोन’मा रहेका क्षेत्रमा कास्की–१ (मतअन्तर ६,९१८), गोरखा–१ (मतअन्तर ४०,७४४), गोरखा–२ (मतअन्तर ४२,६६४), बाग्लुङ–१ (मतअन्तर ८,५८२), बाग्लुङ–२ (मतअन्तर १५,५६५), तनहुँ–१ (मतअन्तर २०,१८२), तनहुँ–२ (मतअन्तर ९,४४४) र म्याग्दी (मतअन्तर ५,४२१) छन्।  

यस हिसाबले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तीनै जना ‘ग्रिन जोन’ मा छन्। 

२५ सय देखि ५ हजार मतअन्तर को ‘एल्लो जोन’ मा तीनवटा निर्वाचन क्षेत्र छन्। तर, यी तीनवटै निर्वाचन क्षेत्रमा पनि एमाले भन्दा गठबन्धनकै मत बढी देखिन्छ। जसमा स्याङ्जा–१ (मतअन्तर २,६४९), स्याङ्जा–२ (मतअन्तर ३,७७३), नवलपरासी बर्दघाट पूर्व–१ (मतअन्तर २,८८१) छन्। 

यस हिसाबले कांग्रेस नेता डा. शशांक कोइराला, कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल तीनैजना ‘एल्लो जोन’ मा छन्। ‘एल्लो जोन’ मा रहेको क्षेत्रमा गठबन्धन वा एमाले जसले पनि विजय हासिल गर्न सक्छन्।  

२ हजार ५ सय भन्दा कम मतअन्तर रहेका क्षेत्र अर्थात्, ‘रेड जोन’ ८ वटा छन्। यीमध्ये ४ वटामा एमाले र ३ वटामा गठबन्धनको अग्रता देखिन्छ। यो ‘जोन’ मा रहेका निर्वाचन क्षेत्रमा पनि गठबन्धन वा एमाले जसले पनि जित्न सक्छ।

‘रेड जोन’ मा रहेकामध्ये गठबन्धन अगाडि रहेका क्षेत्रमा कास्की–२ (मतअन्तर १,०९५) र कास्की–३ (मतअन्तर १,९४२), लमजुङ (मतअन्तर १,२०६) छन्।  

एमाले अगाडि रहेका चार वटै निर्वाचन क्षेत्र पनि रेड जोनमा पर्छन्। तिनमा नवलपरासी बर्दघाट पूर्व–२ (मतअन्तर १,२२३), पर्वत (मतअन्तर ४५६), मुस्ताङ (मतअन्तर ३८६) र मनाङ (मतअन्तर ३८) छन्।  

गण्डकीका १८ मध्ये कसको पोल्टामा कति सिट पर्छ, त्यो त निर्वाचन परिणामले नै देखाउनेछ। तर, यो चाहिँ पक्का छ– २०७४ को विजेता एमाले यो प्रदेशमा पुरानै हैसियतमा रहनेछैन, यसपटक उसले यहाँको परिणाम गुमाउनेछ।

नेपालखबर चुनाव ब्रिफिङ :

सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .