नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘ठगबन्धन’को संज्ञा दिएका छन्।
कैलालीको लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन विकासका लागि नभएर बाँडीचुढी खानलाई बनेको उनको आरोप छ।
‘गठबन्धन विकास गर्न बनेको होइन, जाली फटाहाहरु जम्मा भएर सरकार कब्जा गरेर बाडीचुडी खान हो,’ उनले भने, ‘चुनावमा गठबन्धनलाई जनताले देखाउँछन्।’
जनता र देशलाई ठग्ने ‘ठगबन्धन’लाई चुनावबाट विदा गर्नुपर्ने उनले बताए। ‘कांग्रेस, माओवादी, समाजवादीको छुट्टा छुट्टै घोषणा पत्र छ, कस्को घोषणा पत्र लागू हुन्छ?,’ उनले भने, ‘सरकार बनाउँदा कस्को कार्यक्रम लागू हुन्छ ?’
‘फुटेका हाडीका टुक्रा जोडेर सरकार नहाकिने’ बताउँदै उनले समृद्धिका लागि देशभक्त शक्तिको आवश्यकता रहेको बताए।
कांग्रेस र माओवादी केन्द्रले जनतालाई झुक्याएर सत्ता पाउने दाउमा रहेको उनको भनाई थियो।
‘गठबन्धनसंग कुनै गन्तव्य छैन, नेकपा एमालेको घोषणा पत्र छ, विगतका के के गरेका थिऔं, अब के गर्छौं भनेर उल्लेख गरेका छौं।,’ उनले भने, ‘कांग्रेसले अहिलेसम्म के गरेको छ ? देखाओस्।’ अदालतमा मुद्धा हालेर सेटिङ मिलाएर परामादेशबाट सरकार ढालेपछि विकास निर्माणका काम ठप्प रहेको उनको आरोप छ।
Shares

प्रतिक्रिया