नेकपा (माओवादी केन्द्र)ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ।
शनिबार माओवादी केन्द्रले प्रेस बिज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको विजय सुनिश्चित गराउन सम्पुर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको छ।
माओवादी केन्द्रका पोलिब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजु प्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला सचिव धुब्रनाथ पाण्डे र क्षेत्र नम्बर १ का ईञ्चार्ज भिमसेन थापाले लगायतले हस्ताक्षर सहित एक विज्ञप्ति जारी गरेर सो निर्देश दिएका हुन्।
बिज्ञप्तिमा भनिएको छ– राष्ट्रिय गठबन्धनमा आबद्ध दुवै दल नवलपरासी (बसुप) निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधीसभाका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय विनोद चौधरी नै यस क्षेत्रका गठबन्धनका साझा उम्मेदवार रहेकाले उनलाई बिजय गराउन गठबन्धन पूर्ण क्रियाशील रहने निर्णय भएअनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गठबन्धनका उम्मेदवार माननीय विनोद चौधरीलाई बिजय गराउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सक्रियतापूर्वक क्रियाशील रहन निर्देशन गर्दछ।’
नवलपरासी पश्चिम क्षेत्र नं १ मा गठबन्धनले प्रतिनिधिसभामा कांग्रेसका विनोद चौधरी, प्रदेश न.ण्१ मा विश्वप्रेम पाठक र प्रदेश २ मा माओवादी केन्द्रका रामानन्द यादवलाई उम्मेदवारी दिएको थियो।
यो सहमति विपरित प्रदेश २ मा नेपाली कांग्रेसका देवकरण कलवार (सन्तु)ले उम्मेदवारी दर्ता गरेपछि गठबन्धनमा असमझदारी देखिएको थियो।
प्रदेशमा सहमति पालना नभएपछि माओवादी केन्द्रकी नेतृ सीता पाैडेलले प्रतिनिधिसभा उम्मेदवारी दिएकी थिइन्। पछि गठबन्धनको निर्णय अनुसार वौडेलले आफ्नो उम्मेदवारी निष्किय बनाएकी छिन्।
बिज्ञप्तिमा प्रदेश नम्बर २ मा गठबन्धनको उम्मेदवारका बारेमा के हुने भन्ने बिषयमा खुलाइएको छैन।
प्रदेशमा केही असझदारी कायमै रहेपनि प्रतिनिधिसभाका उम्मेदवार चौधरीलाई समर्थन गर्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको बुझिएको छ। कांग्रेस र माओवादी बीचको यो सहमतिले चौधरीलाई चुनावी प्रतिष्पर्धामा सहज हुने देखिएको छ।
‘लोकतन्त्रको रक्षा र प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बसुप) क्षेत्र नम्बर १ मा पूर्ण प्रतिबद्ध रहेको छ। यस सम्वन्धमा प्रतिगमनकारी शक्तिहरूले फैलाउन सक्ने कुनै पनि भ्रममा नपर्नुहुन र प्रतिगमनकारी शक्तिलाई परास्तगर्नका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहुन यस निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

Shares

प्रतिक्रिया