राजनीति


विश्व पौडेललाई भोट माग्दै देउवाले भने : उहाँ विद्वान मान्छे हो, जिताइदिनुहोला

विश्व पौडेललाई भोट माग्दै देउवाले भने : उहाँ विद्वान मान्छे हो, जिताइदिनुहोला

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १६:४५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन–१ मा सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. विश्व पौडेलका लागि मत मागेका छन्। 

चितवन–३ मा पर्ने भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर १ का उम्मेदवार डा. पौडेलका लागि मत मागेका हुन्। 

पौडेलले भोलिका दिनमा नेपालको बजेट, नेपालको आर्थिक विकास र जलस्रोतको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्री देउवाको भनाइ थियो। 

‘चितवनको १ नम्बर क्षेत्र छ। डा. विश्वनाथ पौडेल उठ्नुभएको छ। उहाँ विद्वान मान्छे हो,’ क्षेत्र नम्बर ३ को सभा सम्बोधन गर्दै उनले भने, ‘उहाँले भोलिका दिनमा नेपालको बजेट, नेपालको आर्थिक विकास र जलस्रोतको विकास गर्नका लागि उहाँले महत्वपूर्ण योगदान दिनुहुनेछ। त्यसैले उहाँलाई तपाईंहरुले जिताइ दिनुहोला।’ 

निर्वाचन आयोगले चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाको भूगोल समेटेर निर्वाचन क्षेत्र नम्बर १ बनाएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन–१ मा पर्ने तीनै नगरपालिका प्रमुखमा सत्ता गठबन्धन विजयी भएको थियो। 

राप्तीमा नेकपा एकीकृत समाजवादीका शमशेर लामा १२ हजार ५२४ मतसहित नगर प्रमुखमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गोविन्दप्रसाद कँडेलले १२ हजार ५१ मत पाए।

खैरहनीमा कांग्रेसका शशीकुमार खनियाँ १४ हजार ५४५ मतसहित नगर प्रमुखमा विजयी हुँदा एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत प्राप्त गरे।

यस्तै रत्ननगर नगरपालिका प्रमुखमा पनि कांग्रेसकै प्रल्हाद सापकोटा २० हजार ७९६ मतसहित विजयी भए। यहाँ एमाले उम्मेदवार विमलादेवी दवाडी १२ हजार ७२८ मतमा सीमित भइन्। 

स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवारहरुको मतलाई आधार मान्दा चितवन–१ मा सत्ता गठबन्धनको ४७ हजार ८६५ र एमालेको २८ हजार ४७४ मत देखिन्छ। 

यस्तै स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा चितवन–१ मा एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र एकीकृत समाजवादीको ४ हजार ५ मत छ। यहाँ सत्ता गठबन्धन र एमालेको मतान्तर ६ हजार ६९० देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad