ad ad

राजनीति


चुनावी सुरक्षा : ७५ हजार सेना, ५ हेलिकप्टर, हजारभन्दा बढी बम डिस्पोजल टोली

चुनावी सुरक्षा : ७५ हजार सेना, ५ हेलिकप्टर,  हजारभन्दा बढी बम डिस्पोजल टोली

उजिर कार्की
कात्तिक २६, २०७९ शनिबार १५:३१, काठमाडौँ

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले ७५ हजार सैनिक परिचालन गर्ने भएको छ। मंसिर ४ गते हुने निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण जिम्मेवारी पाएको सेनाले विभिन्न चरणमा गरी ७५ हजार सेना ब्यारेकबाहिर हुने जानकारी दिएको हो। 

त्यसो त मतपत्र छपाइदेखि नै नेपाली सेना परिचालन भइसकेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र (सानो ठिमी, भक्तपुर) मा मतपत्र छापिएको थियो। 

मतपत्र छपाइको सुरक्षा जिम्मा पनि नेपाली सेनाले पाएको थियो। त्यतिबेला सानो ठिमीमा १४३ जना सेना खटाइएको थियो। निर्वाचन आयोगले मतपत्र छपाइको काम सकिएकाले कात्तिक २७ गतेबाट अत्यावश्यक फौजबाहेक अन्यलाई फिर्ता गर्न पत्र पठाएको छ। सेनाले बाँकी जनशक्ति फिर्ता गर्ने तयारी गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 

सरकारले मतपत्र ढुवानी सुरक्षाको जिम्मा पनि नेपाली सेनालाई दिएको थियो। सेनाले केही स्थानमा आफैं ढुवानी गरेको छ भने बाँकी स्थानमा ढुवानी गर्दा पनि जनशक्ति परिचालन गरेको छ। मतपत्र ढुवानी सबै जिल्लामा भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

७ वटा हिमाली जिल्लामा नेपाली सेनाले आफ्नै हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरेको थियो। जुम्ला, हुम्ला, मुगु, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र ढुवानी गरिएको हो। 

प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म मतपत्र ढुवानी गर्दा पनि नेपाली सेनाले नै सुरक्षा दिनेछ। मतदानको दिनभन्दा केही समयअघि मात्रै सम्बन्धित मतदान केन्द्रमा मतपत्र लगिनेछ। 

५ स्थानमा हेलिकप्टर, १ हजार ५ बम डिस्पोजल टोली 
निर्वाचनको समयमा हुन सक्ने दुर्घटनालाई लक्ष्य गरी नेपाली सेनाले ५ स्थानमा हेलिकप्टर तैनाथ गर्ने भएको छ। इटहरी र सुर्खेतमा हेलिकप्टर तैनाथ भइसकेको र अन्य स्थानमा पनि निर्वाचनको दिनभन्दा पहिले नै हेलिकोप्टर तैनाथ गरिसक्ने सैनिक प्रवक्ता सिलवालले नेपालखबरलाई जानकारी दिए। कात्तिक २४ गतेदेखि सुर्खेतमा एमआई १७ र ईसीयू हेलिकोप्टर तैनाथ छन्। सेनाले काठमाडौंबाहेक बर्दिवास र पोखरामा पनि निर्वाचन सुरक्षाका लागि हेलिकप्टर तैनाथ गर्ने भएको हो। 

सरकारले हरेक मतदान केन्द्रमा बढीमा ३० मिनेट भित्रमा पुग्न सक्ने गरी तैनाथ रहन कार्यादेश दिएको छ। सकेसम्म सम्बन्धित स्थानमा नै रहने गरी व्यवस्था गरिएको र भौगोलिक हिसाबले पुग्न सम्भव नहुने स्थानका लागि हेलिकप्टर तैनाथ गरिने भएको हो। ती स्थानमा आवश्यक परे हेलिकप्टरमार्फत थप जनशक्ति पठाउने सेनाको तयारी छ। 

नेपाली सेनाले केन्द्रदेखि जिल्लासम्म निर्वाचन सुरक्षाका लागि कमान्ड स्थापना गरेको छ। ती कमान्डले एकीकृत निर्वाचन सुरक्षा कक्षको योजनाअनुसार काम गर्नेछन्। 

निर्वाचन सुरक्षाका लागि सेनाले ७७९ स्थानमा फौज परिचालन गरिसकेको छ। अन्य स्थानमा पनि आवश्यक परे थप गर्ने गरी फोर्स रिजर्भ गरिएको छ। 

यस्तै नेपाली सेनाले निर्वाचन बिथोल्ने समूहले बमसमेत प्रयोग गर्न सक्ने भएकाले त्यसका लागि छुट्टै फौज तैनाथ गरेको छ। अहिले नेपाली सेनाका ८६२ वटा बम डिस्पोजल टोली फिल्डमा खटिइसकेका छन्। १४३ वटा टोलीलाई स्ट्यान्डबाई राखिएको छ। 

अन्य जनशक्तिजस्तै बम डिस्पोजल टोली पनि सूचना पाएको ३० मिनेटमा पुग्ने गरी तैनाथ गरिएको छ। हेलिकप्टर राखिएका स्थानमा पनि बम डिस्पोजल टोली रिजर्भमा छन्। 

सुरक्षाबाहेक निवार्नचन आयोगमा सामग्री व्यवस्थापन गर्न पनि सेनाले जनशक्ति परिचालन गरेको थियो। आयोगमा परिचालित एकसय जना सैनिक भने काम सकेर फर्किएका छन्। 

निर्वाचनको समयमा १०६ वटा महत्त्वपूर्ण संरचनाको जिम्मेवारी पनि नेपाली सेनाले लिएको छ। कारागार, विमानस्थल, महत्त्वपूर्ण आयोजना तथा कार्यालयहरुको सुरक्षामा सेना तैनाथ भइसकेको हो। ती स्थानमा खटिएका प्रहरीलाई निर्वाचनका लागि खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .