राम कार्की नेकपा (माओवादी केन्द्र) का सचिव हुन्। माओवादी केन्द्रको विदेश विभाग प्रमुख समेत भएर काम गरिसकेका कार्कीसँग भर्खरै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशन, चीनमा सी चिनफिङको नेतृत्वको निरन्तरता र त्यसले विश्वसहित नेपालमा पार्ने प्रभावको बारेमा नेपालखबरले गरेको कुराकानी :
सीपीसीले हालै २०औँ हाधिवेशन सम्पन्न गरेको छ। सी चिनफिङ नै फेरि नेतृत्वमा आएका छन्। तेस्रो कार्यकाल पनि सीको नेतृत्वलाई कसरी हेर्नुहुन्छ?
अरु देशहरुमा विभिन्न राष्ट्रियताहरु छन्, त्यसैको आधारमा राष्ट्रिय राज्य बनेका छन्। तर चीनको मामिलालाई हेर्दा चिनियाँहरु आफूलाई एउटा फरक सभ्याता भएको मुलुक ठान्छन्। चीनमा राष्ट्रिय राज्यको अवधारणा छैन। चीनले एकै प्रकारको राष्ट्रियता भएको देशको रुपमा आफूलाई लिन्छ।
चीनलाई हेर्ने विभिन्न दृष्टिकोणहरु छन्। एउटा नेपाली दृष्टिकोण छ भने अर्को कम्युनिस्ट र पश्चिमा दृष्टिकोण पनि छ। नेपालको सन्दर्भमा चीनले सयडेढ सय वर्षयता हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरेको, नेपालको चित्त नदुखाएको, पूर्वाधारको विकासमा साझेदार भएको हुनाले चीनप्रति हाम्रो अलि सहानुभूति छ। अर्को, माक्र्सवादी दृष्टिकोणले सबै कुरामा शंका गरेर हेर भन्छ। प्रश्न गर्न सिकाउँछ। अमेरिका, कतिपय युरोपेली देशहरु र केही अरु मुलुकहरुले भने चीनको उदय आफ्नो लागि खतरा ठान्छन्।
मेरो नजरमा चीन पुँजीवादी विश्व व्यवस्थालाई पुरै परिवर्तन गर्नेगरी पनि आएको देख्दिनँ। फेरि अहिलेको विश्व व्यवस्थामा चीन पुरै समाहित पनि भएजस्तो देखिन्न। पछिल्लो समयमा चीनले विश्व व्यवस्थामा आफ्नो भूमिका खोज्दै त्यसको संरचनागत परिवर्तन गर्न खोजेको जस्तो देखिन्छ।
सीको कार्यकालमा चीनले आन्तरिक रुपमा धनी र गरिबबीचमा बढेको खाडललाई पुर्न र चीनको पूर्व तथा पश्चिम, उत्तर तथा दक्षिणको भूभागमा विकासमा देखिएको असन्तुलन मिलाउन प्रयास गर्दै छ। त्यो हाम्रो लागि अध्ययनको विषय हो।
सीपीसीले किन सीलाई नै तेस्रो कार्यकालका लागि निरन्तरता दिएको होला?
नेतृत्वको सन्दर्भमा त सिंगो कम्युनिस्ट आन्दोलनमा नै ठूलो समस्या देखिएको छ। लेनिनको पालापछि जसरी रुसमा स्टालिन नेतृत्वमा आए, माओको पालामा उनले दुई‐दुई जना उत्तराधिकारी घोषणा गरे। नेतृत्वको सन्दर्भमा त कम्युनिस्ट आन्दोलनमा ठूलो बहस गरेर टुंगो लगाउनुपर्ने विषय बनेको छ। कम्युनिजम भनेको स्वतन्त्रताको पनि उच्च रुप हो, लोकतन्त्रभन्दा पनि उच्च। त्यसैले कम्युनिस्ट आन्दोलनमा व्यक्ति प्रधान हुनसक्दैन भने बहस नेपाल, भारतदेखि सबै देशमा रहेको कम्युनिस्ट पार्टीहरुमा छँदैछ।
ताइवानको एकीकरण थाती रहेकोले बलियो र अनुभवी नेतृत्व अहिलेको आवश्यकता हो भन्ने सीपीसीको ठम्याइ अनुसार सी पुन नेतृत्वमा आएको भन्ने चिनियाँ तर्क छ नि?
सीपीसीको आन्तरिक निर्णयको बारेमा हामीले टिप्पणी नगरौँ भन्ने लाग्छ। चीन विकासको जुन चरणमा पुगेको छ, त्यो बाटो परिवर्तन गर्न चाहन्छ। युरोप तथा अमेरिका विकासको एउटा चरणमा पुगेपछि युद्ध अपरिहार्य भयो। अफगानिस्तान, इराक, सिरिया, युक्रेनजस्ता ठाउँहरुमा अहिले पनि युद्धको रुप देखिरहेको छ। यी युद्धहरुबाट चीन जोगिन खोजेको देखिन्छ।
अमेरिका र चीनबीचको प्रतिस्पर्धा बढेर नेपालमा समेत आइपुगेको छ। दक्षिण चीन सागरमा दुई शक्तिबीच टक्कर छ। ताइवानमा देखिएको तनावलाई हेर्दा त युद्ध नहोला भन्न सकिन्न नि?
प्रतिस्पर्धा र ताइवानमा तनाव त छँदैछ। तर चीनले आफ्नो कारणले युद्ध नभड्कियोस भनेर सचेतता अपनाएको देखियो नि। पेलोसीको ताइवान भ्रमणको समयमा चीनले यति मात्र देखाउन खोज्यो कि हाम्रो इच्छा विपरीत केही पनि ताइवान स्ट्रेटबाट छिर्न दिंदैनौँ। त्यसैले चीन युद्धद्वारा भूगोल, स्पेस वा शक्ति आर्जन गर्ने भन्ने नीतिमा देखिँदैन। अहिले नै अरु विश्लेषण गर्नु हतार पनि हुनसक्छ।
सीपीसीको महाधिवेशनलगत्तै सीले ताइवान एकीकरणको लागि इतिहासमै सबैभन्दा नजिक छौँ भन्ने भनाइ राखेका छन्। यसरी हेर्दा त सीले ताइवान एकीकरण आफ्नो तेस्रो कार्यकालको प्रमुख एजेन्डा बनाएको देखिन्छ नि होइन?
हङकङको सन्दर्भमा चीनले एक देश दुई प्रणाली भने पनि चीनले समान सभ्यता भएका क्षेत्रहरु जो पहिले चीनकै अंग थिए, ती ठाउँहरुको एकीकरणमा जोड दिँदै आएको छ। त्यो उसको घोषित नीति नै हो। अन्ततः एकीकरण हुनु नै छ फेरि। ‘एक चीन’ नीतिको कुरा गर्दा त हामी छिमेकी मात्र नभएर अमेरिकासहित विश्वमा अधिकांश देशहरुले ताइवान चीनकै अंग हो भनेर मानेकै विषय हो। त्यसैले सीले ताइवानको एकीकरणलाई प्राथमिकतामा राख्नु स्वाभाविकै हो।
सीको नेपाल भ्रमणको समयमा सीपीसी र नेकपाबीचमा अन्तर्क्रियात्मक कार्यक्रम पनि भएको थियो। तेस्रो कार्यकालमा सीपीसी र नेपालका कम्युनिस्ट पार्टीहरुमा कस्तो सम्बन्ध बिस्तार होला?
निश्चित रुपमा सीपीसी र नेपालका कम्युनिस्ट पार्टीहरुमा भाइचारा सम्बन्ध त हुने नै भयो। त्योबाहेक अरु पार्टीहरुसँग पनि सीपीसीको अन्तरसम्बन्ध राख्ने नीति देखिन्छ। भारतीय कम्युनिस्ट पार्टीहरुसँग पनि सीपीसीको सम्बन्ध उत्तिकै राम्रो छ। उनीहरुले त एमओयू नै गरेका छन्। कोरोनाको कारणले मात्र पछिल्लो समयमा थोरै अन्तर्क्रिया भएको हो। अब सीपीसी र नेपालका कम्युनिस्ट पार्टीहरुबीचको सम्बन्ध त थप बाक्लो हुँदै जानेछ।
सीको तेस्रो कार्यकालमा नेपाल‐चीन सम्बन्ध कस्तो गरी अघि बढ्ला?
स्वाभाविक रुपमा हाम्रा छिमेकीहरु चीन र भारत बलियो हुनु हाम्रो लागि राम्रो अवसर हो। हामीले नै उनीहरुबाट लाभ लिन सक्ने नीति बनाएनौँ भने हात्ती आयो हात्ती आयो फुस्स हुन्छ। जस्तो चिनियाँ राष्ट्रपति सी आउँदा हामीले हाम्रो प्राथमिकता राख्न सकेनौँ। कोही रेल माग्ने, कोही जलविद्युतको कुरा गर्ने। अनेकौँ समस्या। यद्यपि समग्रमा चीन‐नेपाल सम्बन्ध थप घनिभूत हुँदै विकासमा साझेदारी हुने गरी अघि बढ्छ भन्न सकिने ठाउँहरु छन्।
प्रतिक्रिया