नेपाली कांग्रेसका प्रवक्ता संयोजक डा. प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन्।
प्रवक्ता महतले संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धि रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट पारे।
नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आइतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देश नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताए।
उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धि रक्षा गर्न आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्ने बताए।
कांग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेका स्पष्ट गर्दै आगामी निर्वाचनपछि पनि देशमा कांग्रेसकै नेतृत्वमा यही गठबन्धनको सरकार बन्ने दाबी उनले गरे।
प्रवक्ता डा. महतले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेको अवरोधका कारण लागू गर्न नसकेको पनि स्पष्ट गरे।
प्रवक्ता डा. महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताउनुभयो।
'विगतका सरकारले देशमा स्थिरता कायम गर्न सकेनन्, मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्छ', उनले भने।
'मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ। काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन। देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ', उनले भने।
कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार आफूहरूले काम गर्ने प्रवक्ता महतको दाबी थियो। पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारसहितका कांग्रेसका जिल्ला नेताहरुको उपस्थिति थियो।
Shares

प्रतिक्रिया