राजनीति


जसपाको नजरमा नेपाली कम्युनिष्ट ‘कमाउनिष्ट’, कांग्रेस ‘इतिहासको ब्याज खाने पार्टी’

जसपाको नजरमा नेपाली कम्युनिष्ट ‘कमाउनिष्ट’, कांग्रेस ‘इतिहासको ब्याज खाने पार्टी’

जसपाको घोषणा पत्र सार्वजनिकी कार्यक्रम। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १५:२१, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेपालका कम्युनिष्टहरुलाई ‘अवसरवादी–कमाउनिष्ट’ र नेपाली कांग्रेसलाई इतिहासको ब्याजमा बाँचेको पार्टीको संज्ञा दिएको छ। 

असोज पहिलो सातासम्म नेपाली कांग्रेससहितको सत्तागठबन्धन र त्यसपछि एमालेसँग चुनावी तालमेल गरेको जसपाले कम्युनिष्टलाई कमाउनिष्ट र कांग्रेसलाई इतिहासको ब्याजमा बाँचेको पार्टीको आरोप लगाएको हो। 

राजनीतिक विचारधाराअनुरुप लामो समयदेखि नेपालमा मूलतः तीन थरीका विचारधाराहरु अभ्यासमा रहेको उल्लेख गर्दै जसपाले तिनमा साम्यवादी लक्ष्य बोकेको कम्युनिष्ट विचारधारा,  पूँजीवादी उदारवादी विचारधारा र धार्मिक कट्टरपन्थी–राजतन्त्रात्मक शासन प्रणाली रोज्ने पार्टी रहेको जनाएको छ। 

‘साम्यवादी लक्ष्य बोकेको कम्युनिष्ट विचारधारालाई विश्व दृष्टिकोण मानेर धेरै पार्टीहरु जन्मिएका छन्। नेपालमा पनि धेरैथरी कम्युनिष्ट पार्टीहरुले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन्’ जसपाले मंसिर ४ को चुनावका लागि जारी गरेको घोषणापत्रमा भनेको छ, ‘तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन्।’

पूँजीवादी उदारवादी विचारधारालाई नेपाली कांग्रेसले अँगालिरहेको उल्लेख गर्दै जसपाले जसपाले वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत नराख्ने दावी गरेको छ। 

उसले भनेको छ, ‘केवल इतिहासकै ब्याजमा धानिएको पार्टीको रुपमा कांग्रेसले पारम्परिक राजनीति गरिरहेको छ।’

धार्मिक कट्टरपन्थी र कुनै न कुनै रुपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शका रुपमा ग्रहण गर्ने विचारधारा बोक्ने शक्तिहरु नेपालमा रहे पनि तिनको नाम उसले उल्लेख गरेको छैन। तिनीहरुबारे जसपाले भनेको छ, ‘मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत त्यो विचारधारालाई राजनीतिक दृष्टिकोण मानेर अघि बढ्ने दलहरु अझै पनि छन्।’ 

खासमा अन्य दललाई भन्दा आफ्नो दललाई ‘राम्रो’ देखाउन जसपाले यी मुख्य ती राजनीतिक शक्तिहरुबारे यो विश्लेषण गरेको हो। 

‘नेपालमा अहिलेसम्म यिनै तीन विचारधाराका वरिपरि बनेका पार्टीहरुले शासन चलाए’, घोषणापत्रमा भनिएको छ, ‘तर, यिनको शासनकालमा मुलुकको अर्थराजनीतिक रुपान्तरण हुन सकेन। देशमा विभिन्न खाले उत्पीडन, दमन, विभेद र असमावेशीकरण देखा पर्यो।’ 

यी पार्टी र शक्तिहरुको शासनकालमा  लिङ्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक एवम् अन्य विविध खाले उत्पीडनहरु झाँगिएको आरोप लगाउँदै जसपाले ती उत्पीडनको अन्त्य र समतामुलक समाज निर्माणका लागि जसपा स्थापना भएको दावी गरेको छ। 

‘सबै खालका उत्पीडन अन्त्य गरी समावेशी र समतामुलक समाज निर्माणमार्फत समावेशी चरित्रलाई अंगाल्ने, सबै सामाजिक समुदायको हक, अधिकार र पहिचान सुनिश्चित गर्दै देशलाई विकास, समृद्धि, प्रगति र उन्नतिको पथमा लम्काउने विचारधारा सहितको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता देखियो’ घोषणापत्रमा भनिएको छ, ‘त्यो ऐतिहासिक आवश्यकता र अपरिहार्यतालाई बोध गर्दै सहभागितामुलक लोकतन्त्र, समावेशी विकास र समन्यायिक रुपान्तरणको मुद्दालाई सार्थक बनाउन  समाजवादी गणतन्त्रको वैकल्पिक विचारधाराअनुरुप अहिलेको राजनीतिक मूलधारमा सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा ‘जनता समाजवादी पार्टी’ निर्माण भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad