निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले मतदाताको घरदैलोमा पुग्ने क्रम तीव्र पारेका छन्।
निर्वाचन आयोगले जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन–प्रशारण गर्न दिएसँगै चुनावी प्रचार-प्रसार तीव्र भएको हो।
चुनावी प्रचार-प्रसारलाई औपचारिक रुपमा सुरू गरेकै दिन बिहीबार नेपालखबरको टिम नयाँ र पुराना पुस्ताबीच प्रतिस्पर्धा भइरहेको काठमाडौं–५ का मतदाताको ‘मुड’ बुझ्न निस्कियौँ।
काठमाडौं–५ मा पर्ने काठमाडौं महानगरपलिका–३ को महाराजगञ्ज पुग्दा अमेरिकी दूतावास छेवैको रोयल दरबार ब्यांकेटमा नेकपा एमालेका कार्यकर्ताहरुको चहलपहल थियो।
ब्यांकेटमा चहलपहल बढ्नुको कारण थियो–प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम।
एमाले उम्मेदवार पोखरेलको तस्बिर र चुनाव चिह्न नेखिए पनि ब्यांकेट प्रवेशद्वारमा स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङ फ्लेक्स बोर्डमा मुस्कुराइरहेका भेटिए।
त्यहाँ बिहान ११ बजेलाई चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम तय भएको थियो। तर पनि निर्धारित समयसम्म ब्यांकेटको सभा कक्षमा ब्यानरसम्म टांगिएको थिएन। कार्यक्रम सुरु हुन ढिलो हुने संकेत देखिएपछि हाम्रो टोली ब्यांकेटबाट बाहिरिएर स्थानीय ब्यापारीसँग कुराकानीतर्फ लाग्यो।
कुराकानीका क्रममा एमाले उम्मेदवार पोखरेलको चुनावलक्षित पहिलो औपचारिक कार्यक्रमका लागि छनौटमा परेका ब्यांकेट वरपरका मतदातासमेत रहेका ब्यापारीहरुमा स्वतन्त्र उम्मेदवार गुरुङबाट प्रभावित देखिए।
श्रेष्ठ ग्लास सेन्टरका सञ्चालक राजेन्द्र श्रेष्ठले कुरैकुरामा आफू एमालेको मतदाता रहिसकेको खुलाए। तर, उनी यसपटक एमालेलाई मत दिने पक्षमा देखिएनन्। भन्दै थिए, ‘स्थानीय चुनावमा हाम्रो वडा एमालेले स्वीप गरेको हो। म आफैँ एमालेको भोटर हुँ। तर, यो पटक एमालेलाई भोट जाँदैन।’
उनी काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबाट निकै प्रभावित देखिन्थे। श्रेष्ठलाई स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङको अनुहारमा बालेन्द्रको झल्को देखिने गरेको उनका कुराबाट अनुमान लगाउन सकिन्थ्यो।
‘स्वतन्त्रले जितेपछि काम हुँदो रहेछ। बालेनलाई हेर्नुस् न,’ श्रेष्ठ भन्दै थिए, ‘श्रीलाई बालेन जस्तो देखेर योपल्ट मत जान्छ।’
उनले काठमाडौं–३ मा वडाध्यक्ष र वडा सदस्यहरु विजयी भएका कारण स्थानीयले मत दिनेमा एमाले ढुक्क हुने अवस्था नरहेको दाबी गरे। ‘हामीलाई नै मत दिन्छन् भनेर एमाले नेता–कार्यकर्ता ढुक्क छन्, त्यही भएर जनतामाझ पुगेका छैनन्,’ श्रेष्ठले भने, ‘तर, यो पटक मत पाउँदैनन्।’
सवा १२ बजे फेरि ब्यांकेटको सभाकक्ष पुग्दा एमाले कार्यकर्ताहरु वरिष्ठ उपाध्यक्ष पोखरेल र प्रदेशसभा सदस्य उम्मेदवारहरुको तस्बिरअंकित ब्यानर झुण्ड्याइरहेका थिए। हामी निस्क्यौँ, काठमाडौं–५ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिकाका अन्य वडा घुम्न।
बूढानीलकण्ठको नारायणथानस्थित मन्दिर छेवैको बाटो हुँदै केहीबेर उकालो चढ्दै गर्दा एउटा पसल बाहिर महिला–पुरुष बसिरहेको देखेर नेपालखबरको टोली पनि किनमेलको बाहनामा रोकियो। चुनावी रौनकबारेको कुराकानीका क्रममा बूढानीलकण्ठ–३ की ५२ वर्षीया कमला कुँवरले स्थानीय समस्या सुनाइन्।
‘चुनाव आए पनि के, न आए पनि के? गर्ने कसैले होइन,’ उनी एकोहोरो भन्दै गइन्, ‘सडक बत्ती छैन। खानोपानीको समस्या छ। माडे खोला फोहोर फाल्ने ठाउँ भएको छ। खोला सफा राख्नु पर्ने होइन र?’ संवादका क्रममा कुँवरलाई सत्ताधारी र प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा सदस्यमा खडा गरेका उम्मेदवारबारे सबै थाहा रहेछ।
तर, उनले काठमाडौं–५ बाट उठेका बाजुराली युवा हेमराज थापाको मात्रै नाम लिइन्।
‘हेमराज थापा स्वतन्त्र उम्मेदवार भन्ने सुकेका छौँ। उनले भोट मागेर पनि गइसकेका छन्। कता पश्चिमको केटो हो भन्छन्,’ कुँवरले भनिन्, ‘हाम्रो यता राजनीति गर्ने नेता नै छैनन्। बाहिरका हुन् गर्ने! अब भोट एउटालाई दिनै पर्छ। पुरानालाई जनताले दिन्नन्। नयाँलाई मौका दिन्छन्।’
नजिकै रहेका ७६ वर्षीय वृद्ध मेघबहादुर बुढाथोकी २०७४ मा विजयी एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलप्रति असन्तुष्ट देखिए। मत दिएर जिताइसकेपछि फर्किएर नआएका भन्दै उनी आक्रोश पोखिरहेका थिए। ‘पो’राँ (पोहोर) भोटले नाकमुख देखाएको भए मार्दिनू। त्यो मान्छे (पोखरेल) ले नाकमुख देखाएको छैन,’ बुढाथोकीले भने, ‘काम कसैले गर्दैनन्। मन लागेकालाई भोट दिन्छु।’
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमुन्तिरको बस्तीतर्फ जान उकालो लागियो। चुनावी चहलपहलबारे रिपोर्टिङका लागि निस्केका हामी ४–५ जना बसेको ठाउँ देख्यो कि कुराकानी गर्न कुनै न कुनै बहाना बनाइहाल्थ्यौँ।
हिँड्दै जाँदा टाढैबाट स्कुटी र मोटरसाइकल रोकिएको देख्यौँ।
नजिकै चिया पसल रहेछ।
चिया पसलमा युवा, अधबैंसे र वृद्ध गरी ७–८ जना बसेका थिए।
खाने मन नहुँदा–नहुँदै चिया अर्डर गरियो।
‘कुन च्या? कालो कि सेतो,’ साहुजीको प्रश्नमा जवाफ दियौँ– दूध चिया।
काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चिया पसलनजिकैको बाटोले काठमाडौं क्षेत्र नम्बर ४ को सीमा छ्ट्याउँदो रहेछ। यो पनि बूढानीलकण्ठ–३ नै हो? २०४८ सालदेखि मतदान गर्दै आएका स्थानीय रामबहादुर खड्काले चोर औँलाले देखाउँदै भने, ‘हो–हो। यो काठमाडौं–५, ऊ त्यो बाटो परबाट काठमाडौं–४।’
उनको अघिल्लितिर बसेका युवाले खड्कासँगै सार मिलाउँदै भनिरहेका थिए– यो ईश्वर पोखरेलको क्षेत्र, त्यो गगन थापाको।
खड्का ती युवासँग जिस्किए, मंसिर ४ सम्म कुरौँ न। अहिले नै यो ईश्वरको, त्यो गगनको भन्दिने? हामी हास्यौँ। युवाले जवाफ फर्काए हुने नै त्यही हो त भन्न के को डर?
४० वर्षीय रमेश भण्डारी नामका ती युवाले काठमाडौं–५ मा पोखरेल नै फेरि विजयी हुने दाबी गरे। तर उनी आफैँ भने दलीय राजनीतिप्रति असन्तुष्ट देखिन्थे। काठमाडौं–५ ले स्थानीय नेता नपाएर जनपेक्षाअनुसार विकास हुन नसकेको उनको बुझाइ रहेको बोली र ब्यवहारले देखाउँथ्यो। ‘स्थानीय नेता भएपछि विकास हुन्छ। बाहिरकाले जिते पनि विकास गर्दैनन्,’ उनले भने।
खड्काले नारायणथानदेखि शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज जोड्ने सडकमा सार्वजनिक सवारी साधन चल्न नसक्नुलाई उक्त क्षेत्रको मुख्य समस्याका रुपमा दर्शाए। उनका अनुसार केही वर्ष पहिले भने त्यो सडकमा सार्वजनिक साधन चल्दा रहेछन्।
‘यता यातायातको समस्या छ। सहिद गेटबाट शिवपुरी पार्कसम्म गाडी चल्थ्यो। बाटो बिस्तार गर्ने भनेर ७ वर्षअघि रोकिएको, बाटो बनिसक्दा पनि भाडा तिरेर चढ्ने गाडी चलेका छैनन्,’ उनले भने, ‘नारायणथानबाट यहाँ आउँदा ३५–४० मिनेट हिँड्नुपर्छ। घरमा पाहुना आउँदा कि ट्याक्सीमा ल्याउनु पर्छ कि हिँडेरै, दुःख छ।’
खड्काले २०७४ मा निर्वाचित वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र २०७९ मा निर्वाचित वडाध्यक्ष आकाश धितालसँग सार्वजनिक सवारीसाधन चलाउने पहल गर्न पटक पटक आग्रह गरे पनि सुनुवाई नभएको गुनासो गरे। उनी २०७४ मा निर्वाचित एमाले नेता ईश्वर पोखरेलप्रति सकारात्मक देखिएनन्।
‘चुनाव जितेपछि जम्मा एक पटक आश्रम स्कुल (बूढानीलकण्ठ आश्रम स्कुल) मा रक्षामन्त्री हुँदा आउनुभएको थियो,’ खड्काले भने, ‘यो बाटो नबनेपछि हामीले दबाब दिन उहाँलाई बोलाएका थियौँ। त्यसपछि बाटो बन्यो।’
खड्काले निर्वाचन जितेपछि पोखरेल उक्त क्षेत्रमा मात्र एक पटक मात्रै आएको बताइरहँदा सडक छेउ मुढामा बसेका ७९ वर्षीय रामबहादुर खड्का बोले, 'देखिहाल्नु'भो नि कति पटक आउँदा रहेछन्।' ती वृद्ध बूढानीलकण्ठकै बासिन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आक्रोशित देखिन्थे।
‘ऊ तल देउवा बस्छन्। प्रधानमन्त्री भएर पनि यो ठाउँका लागि माखो मारेको होइन,’ देउवाको निजी निवासतिर मुख घुमाउँदै उनले आक्रोश पोखे।
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज जोड्ने बाटोको दायाँ–बायाँ बस्तीमा कांग्रेसको प्रचार–प्रसार शून्यझैँ थियो। कांग्रेसले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि युवा नेता प्रदीप पौडेललाई उठाएको छ। तर, ३ नम्बर वडाबासीमाझ उनी अपरिचित छन्।
‘प्रदीपको अनुहार त के उहाँका मान्छे पनि देखेका छैनौँ,’ चिया पसलमा भेटिएका खड्काले भने, ‘हेमराज थापा भने यहाँ आएका छन्।’ चिया पसल तल झण्डै आधा घण्टा पैदल दूरीमा भेटिएका वृद्ध र महिलाहरुले पनि कांग्रेस उम्मेदवार पौडेलको नाम नसुनेको प्रतिक्रिया दिए।
नेपालखबरको टिम काठमाडौं ५ कै टोखा नगरपालिका–६ मा पर्ने धापासी ढुंगेधारा चोक पुग्दा वृद्ध, अधबैंसे र युवक गरी तीनजना पसलबाहिर घाम तापिरहेका थिए। हामीले निर्वाचनबारे कुरा गर्न खोज्दा वृद्ध उठेर हिँडे। युवाले मुखै खोलेनन्। अधबैंसेले परिचय दिँदा पनि नाम खुलाएनन्। प्रतिप्रश्न गरे, ‘किन कुरा गर्ने? राजनीतिका कुरा गर्ने फुर्सद छैन। हाम्रा लागि कसले के गरिदिन्छ र! राजनीतिक कुरा गर्ने?
पसलको अगाडितिर रहेको घरभित्रबाट निधारमा चन्दनको लेप लगाएकी महिला निस्किइन्। राजनीतिक कुरा गरेको सुन्दा आक्रोश ओकलिन्– हामी कसैलाई भोट दिन्नौँ। भोट दिनुपर्छ भनेर इन्डिया जाँदैछौँ। चुनावअघि यो गर्छौँ, त्यो गर्छौँ भन्ने। जितिसकेपछि नाकमुख नदेखाउनेलाई हामीले किन भोट दिने?
उनको आक्रोश देखेर क्यामेराअगाडि बोल्न आग्रह गर्यौँ। उनी मान्न तयार भइनन्। ‘भाइहरुसँग बोल्यो भने टीभी, युट्युब कता कता आउला। मैले अघि नै भनेँ भोट हाल्नु पर्छ भनेर इन्डिया जाँदैछौं,’ उनले शान्त हुँदै भनिन्, ‘यो भिडिओ देखेपछि मलाई बोर्डरमा रोकिदिन्छन्। नबोलौँ है भाइ।’
टोखा–६ कै गजुरकोटमा पर्ने त्रियुग मार्गस्थित किराना पसल सञ्चालक लेखनाथ अधिकारी अन्य ठाउँमा भेटिएका मतदाताभन्दा ‘कुल’ देखिए। उनी सहजै कुरा गर्न तयार भए।
अधिकारीले आफू कांग्रेसको मतदाता भएको जानकारी दिए। तर, उनले चुनावी चहलपहल राम्ररी सुरु भइनसकेको प्रतिक्रिया दिए।
‘चुनावको चहलपहल खासै सुरु भएको छैन,’ अधिकारीले भने, ‘कांग्रेसका प्रदीप पौडेल एक पटक आएका हुन्। तर, मत मागेका थिएनन्। भेटघाट मात्रै गरे।’
उनको नजरमा कांग्रेसले सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उठाएका पौडेल यो क्षेत्रका लागि नयाँ भए पनि परम्परागत मत व्यवस्थापन गर्न सके सहजै जित्ने उम्मेदवार हुन्।
तर, अधिकारी कांग्रेसका परम्परागत मत व्यवस्थापन हुनेमा भने सशंकित देखिन्थे। ‘प्रदीपजी न्यू कमर हो। ४/५ महिना अघि नै आएको भए अझै राम्रो हुने थियो,’ अधिकारीले भने, ‘कांग्रेसको परम्परागत मत व्यवस्थापन हुन सके जित्नु हुन्छ। तर व्यवस्थापन सम्भावना कम छ।’
काठमाडौं–५ को स्थलगत रिपोर्टिङ गर्ने क्रममा टोखा–३ मा पर्ने धनेश्वर चोक पुग्दा नजिकै कांग्रेस उम्मेदवार पौडेलको प्रचार–प्रसार भइरहेको सजिलै अनुमान लगाइयो।
कारण थियो, ‘जनताले रोजेको प्रदीप पौडेल हो, यो देशले खोजेको प्रदीप पौडेल हो’ बोलको गीत सुनिनु।
साढे ४ बजे धनेश्वर चोकबाट केहीअगाडि नयाँ टोलमा कांग्रेस उम्मेदवार पौडेल कार्यकर्ताका साथ घरदैलोमा भेट्टिए। नयाँ टोलमा घरदैलो भ्याएर पौडेलको टोली धनेश्वर चोकबाट पश्चिम भएर पसल पसलमा मत माग्न थाल्यो। पौडेलको घरदैलोका क्रममा घरको झ्यालबाट हेरिरहेका मतदातामध्ये केहीले उनलाई बाटोमा पर्खाएर खादा–माला लगाइदिँदै थिए।
पौडेल धनेश्वरको बजार क्षेत्रमा घरदैलो गरिरहँदा एमालेका नेता–कार्यकर्ता भने कांग्रेसकै युवाहरुलाई पार्टी प्रवेश गराउने तयारीमा जुटेका थिए। उनीहरुले कांग्रेससम्वद्ध युवाको समूहलाई पार्टीमा भित्र्याउन धनेश्वर चोकबाट झण्डै एक किलोमिटर दूरीको सूर्य दर्शन हाइट (शान्ति वाटिका) मा चाँजोपाँजो मिलाएका थिए।
बेलुकी साढे ५ बजे प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कार्यक्रमस्थल पुगे। शान्ति वाटिका नजिकैको भवनमा पार्टी प्रवेश कार्यक्रम राखिएको थियो।
उनले कार्यक्रममा दर्जन बढी युवालाई कांग्रेसबाट एमालेमा प्रवेश गराए।
पोखरेल कार्यक्रमस्थलमा रहिरहँदा हामीले त्यही क्षेत्रमा लामो समयदेखि व्यापार गरिरहेका एक व्यवसायीसँग त्यहाँको माहोलबारे जिज्ञासा राख्यौँ। उनले काठमाडौ–५ मा यो पटक कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने सुनाए।
‘यो पटक पनि मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनकै हुनेजस्तो छ,’ किराना पसल सञ्चाल गर्दै आएका ती ब्यापारीले भने, ‘हेभिवेट भएकै कारणले पनि यहाँ पोखरेलले बाजी मार्न सक्छन्, गठबन्धनका उम्मेदवार यहाँका मतदाताका लागि विशुद्ध नयाँ भएकाले समस्या पर्न सक्छ।’
तर, उनले आफ्नो नाम खुलाउन चाहेनन्। ‘हामी ब्यापार गर्ने मान्छे। नाम नभनौँ होला,’ उनले आफ्नो बाध्यता सुनाए।
कतिपयले उम्मेदवारको अवस्था हेरेरसमेत मतदानको मुड बनाउने उनले बताए। चुनावकाे केही दिनअघिको माहोल हेरेर जित्न सक्ने उम्मेदवारलाई स्वतन्त्र विचारका मतदाताले मत दिन सक्ने उनको बुझाइ थियो।
‘पहिले गठबन्धन थियो। पोखरेलले जितिहाल्छन् भनेर पनि मत गएको थियो,’ उनले भने, ‘यसपाली कांग्रेसको पनि गठबन्धन छ। स्वतन्त्र 'टाइप'का मान्छेले जित्नेलाई हालम् न भनेर दिन सक्छन्।’
काठमाडौं ५ को भूगोल
काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।
२०७४ को निर्वाचनमा काठमाडौं-५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा. महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–५ मा एमाले बलियो देखिन्छ।
निर्वाचन आयोगका अनुसार वडाध्यक्षको मतले एमालेका पक्षमा १९ हजार ७०३ मतदाता देखिन्छन्। यस्तै कांग्रेसको पक्षमा १४ हजार ८५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा २ हजार ८२२, नेकपा एकीकृत समाजावदीको पक्षमा १ हजार ८२७, नेकपा माओवादी केन्द्रको पक्षमा १ हजार १६८ र जनता समाजवादी पार्टी (जसपा) ५८ मत छ।
आसन्न निर्वाचनमा प्रतिनिधिसभा तर्फ काठमाडौं–५ मा दलहरुबाट १५ र स्वतन्त्र १४ गरी २९ जना प्रतिस्पर्धामा छन्।
उम्मेदवार
नेकपा एमाले– ईश्वर पोखरेल
नेपाली कांग्रेस– प्रदीप पौडेल
जनता समाजावादी पार्टी (जसपा)– भीमबहादुर मगर
राष्ट्रिय प्रजातन्त्र पार्टी– रामप्रसाद उप्रेती
नेपाल मजदुर किसान पार्टी– शैलेश डंगोल
लोकतान्त्रिक समानजजवादी पार्टी– नेपाल दानिन्द्र जोशी
मौलिक जरोकिलो पार्टी– रामकृष्ण परियार
हाम्रो नेपाली पार्टी– मधुसुदन पाठक
नेपालका लागि नेपाली पार्टी– सागर खड्का
नेसनलिस्ट पिपल्स पार्टी– लवली थापा
नेकपा मार्क्सवादी (पुष्पलाल)– टीकामाया गुरुङ
नेपालवाद– दीपककुमार शर्मा
एकीकृत शक्ति नेपाल– दीपक सिंह
जनसमाजवादी पार्टी नेपाल– राजु विष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी– डा. प्रणय शमशेर राणा
स्वतन्त्र उम्मेदवार
श्रीराम गुरुङ, विनिता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, सुशान्त श्रेष्ठ, कृष्णराज श्रेष्ठ, विजय कँडेल, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, रञ्जु न्यौपाने, शैलेन्द्र बस्नेत, हेमराज थापा र रमेश केसी।
Shares
प्रतिक्रिया