नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि सभा–१ का उम्मेदवार विनोद चौधरीले सुस्ता डुबानको समस्या दीर्घकालिन समाधानको पहल गर्ने बताएका छन्।
चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता, प्रतापपुर लगायत क्षेत्रमा देखिएको बाढी तथा डुबानको समस्यालाई भारतसँग छलफल तथा कूटनीतिक पहलद्वारा समाधान गर्ने बताए।
मतदाता माझ रहेका चौधरीसँग मतदाताले नारायणी नदीका कारण हुने बाढी तथा डुबानको दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेका थिए।
नारायणी नदीको बाढीका कारण करिब १० हजार परिवार पीडित छन्।

चौधरीले भारतस्थित जलस्रोत सम्बन्धी निकायसँग परामर्श गरी नारायणी नदीबाट वर्षेनी हुँदै आएको डुबान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाउने प्रतिवद्धता जनाए।
यस्तै, चौधरीले त्रिवेणी छोटी भन्सार कार्यालयबाट दिइने सेवा विस्तार र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम राजमार्ग बुटवल –नारायणगढसडक खण्डको सडक विस्तार आयोजनाको काममा तीब्रता दिन पहल गर्ने बताए।
यस्तै, पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रसहित नारायणी नदी आसपास क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नमान्ने जस्ता समस्या समाधान गर्न पहल गर्ने पनि बताए।
चौधरी जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदेश त्रिपाठीसँग प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दैछन्।
Shares

प्रतिक्रिया